Tue. Apr 16th, 2024

संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल चिनाउँदै लुम्बिनी प्रदेश सरकार

काठमाडौं, २०७८ असार २६ गते शनिबार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले कपिलवस्तुमा पहिलो र दोस्रो बुद्धको प्रतिमा अनवरण गर्नुभएको छ । दुबै बुद्धका जन्मस्थलमा पार्क निर्माण गरी बुद्धको प्रतिमा निर्माण गरिएको थियो । शनिबार विहान ८ बजे अनावरण गर्दै प्रतिमा अनावरण गर्दै मुख्यमन्त्री पोख्रेलले दुवै बुद्धका जन्मस्थल प्रमाणित भइसकेकाले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । संसारको पहिलो र दोस्रो बुद्धको जन्मस्थल कपिलवस्तु घुम्न आउने पर्यटकको प्रतिमासहितको पार्कले ध्यान खिच्ने बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले निर्माण गरिएको संरचनाको स्थानीय समुदाय, पालिका मिलेर संरक्षण र थप विकास गर्नुपर्ने समेत बताउनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवामा संसारको पहिलो बुद्ध, क्रकुछन्द बुद्धको मूर्ति अनावरण गर्नु भएको थियो । अनावरण गरेको प्रतिमा नेपालको लागि क्रकुछन्द बुद्धको पहिलो प्रतिमा बनेको छ । क्रकुछन्द बुद्धको प्रतिमाको स्वरुप म्यान्मारबाट लिइएको मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो । यसैगरी, शनिबार नै संसारकै दोस्रो बुद्ध कनकमुनि बुद्धको प्रतिमा समेत अनावरण गरिएको छ । जन्मस्थल कपिलवस्तु नगरपालिका वडा नं. ११ अरौराकोटमा एक समारोहको आयोजना समेत गरिएको थियो ।

पित्तल धातुबाट निर्माण गरिएको एउटा प्रतिमा बनाउदा १६ लाख ५० हजार खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताउनुभयो । गोटिहवाको पार्क २० लाख १७ हजार ८५६ र अरौराकोट पार्क ३० लाख ५ हजार ७९९ को लागतमा तयार गरिएको छ । लुम्बिनी प्रदेश सरकारको योजना अनुसार डिभिजन वन कार्यालयले उपभोक्ता समितिमार्फत् निर्माण गरिएको थियो ।

बौद्ध सभ्यता हरेक कल्पमा ५ बुद्धले जन्म लिने विश्वास गरिन्छ । हालको समय भद्रकल्प रहेको र भद्रकल्पमा क्रकुछन्द पहिलो र कनकुमुनी दोस्रो, कश्यप तेस्रो र शाक्यमुनी सिद्धार्थ गौतम बुद्ध चौथो मानिँदै आएको छ । पाँचौ बुद्धको रुपमा मैत्रेय बुद्धले जन्म लिने बौद्ध दर्शनमा उल्लेख भएको छ । तीन बुद्धको जन्मस्थल नेपालमै रहेको छ । कश्यप बुद्धको जन्मस्थल हालसम्म बुद्ध साहित्यले प्रमाणित नभएको लुम्बिनी विकास कोष तिलौराकोट साइटका प्रमुख माधवप्रसाद आचार्यले बताउनुभयो ।

बौद्ध साहित्यको आधारमा कक्रुच्छन्द बुद्धको जन्म कपिलवस्तु नगरपालिका वडा नं. ५ गोटिहवा र कनकमुनी बुद्धको कपिलवस्तु नगरपालिका ११ अरौराकोटमा जन्म भएको मानिँदै आएको छ । जन्मस्थलको पहिचानको लागि ईसा पूर्व तेस्रो शताव्दीमा मौर्य सम्राट अशोकले स्तम्भ गाड्नु भएको थियो । ती स्तम्भहरुलाई अशोक स्तम्भको रुपमा चिनिँदै आएका छन् । दुवै बुद्धलाई महायानी समुदायले मुख्य देउताको रुपमा मान्ने गरेका छन् । चीन, भुटान, भियतनाम, कोरिया, चीनको स्वाशित क्षेत्र तिब्बतलगायतको क्षेत्रमा महायानी समुदायको बाहुल्यता रहेको छ । गोरखापत्र अनलाईन

Facebook Comments