Sun. May 5th, 2024

विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त

काठमाडौं, २०७८ असार २१ गते सोमबार । विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रीस्तरीय निर्णयबाट चार वर्षका लागि अधिकारी नियुक्त हुनुभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सप्तकोशी एफएमका सञ्चालक एव विज्ञापन बोर्डका सदस्य चन्द्र न्यौपानेको निधन भएपछि रिक्त रहेको बोर्ड सदस्यमा अधिकारीको नियुक्ति भएको हो ।

नवनियुक्त सदस्य अधिकारीलाई मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङ, सचिव हरिप्रसाद बस्याल लगायतले बधाई तथा शुभकामना प्रदान गर्नुभएको छ ।

कार्यक्रमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल लगायतको उपस्थिति थियो ।

दमक-५, झापा निवासी अधिकारीले गोरखापत्र दैनिक र कान्तिपुर दैनिकमा सम्वाददाताको पदमा काम गरिसक्नु भएको छ । अधिकारीले झापा, दमकस्थित सप्तरंगी एफ.एम. १०१.६ मेगाहर्जमा वि.सं.२०६५ सालदेखि केही वर्ष समाचार संयोजक पदमा रहेर पनि काम गरिसक्नु भएको छ । अधिकारी दुई दशकदेखी पत्रकारिता पेशामा सम्लग्न हुनुहुन्छ । हाल नेपाली बहस डट कमका प्रधान सम्पादक अधिकारी यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस संयोजक, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्य रहनुभएको थियो ।

अधिकारीलाई भ्वाईस अफ काठमाडौं मिडिया प्रा.लि.को तर्फबाट सफल कार्यकालको लागि हार्दिक शुभकामना ।

Facebook Comments