Fri. May 17th, 2024

बिजुली चम्किएर चट्याङ पर्दा क्यानडाको ब्रिटिश कोलम्बियामा अनेकौं डढेलो

काठमाडौं, २०७८ असार १९ गते शनिबार । पश्चिमी क्यानडामा अहिलेसम्मकै उच्च गर्मीसँगै बिजुली चम्किएर चट्याङ पर्दा १३० भन्दा बढी जङ्गली डढेलोका घटना देखा परेका छन्।

क्यानडाको सङ्घीय सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि लागि ब्रिटिश कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ।

यसै साताको सुरुमा उक्त प्रदेशको लीटन गाउँका मानिसहरू त्यहाँबाट पलायन हुनुपरेको थियो।

लीटनमा गत मङ्गलवार क्यानडाको हालसम्मकै सबैभन्दा उच्च तापक्रम ४९.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो।

आगलागीका कारण करिब २५० मानिसहरूको बसोबास रहेको उक्त क्षेत्र प्रभावित भएको थियो।

त्यसले गर्दा त्यहाँ बसोबास गर्ने मानिसहरू गत बुधवार साँझ आफ्ना सामानहरू नलिइकनै पलायन हुनु परेको थियो।

उक्त क्षेत्र भ्यान्कुभर बाट २६० किलोमिटर पूर्वोत्तरमा पर्छ।

“१५ मिनेटभित्र पूरै सहर आगोको लप्कामा समेटियो,” त्यहाँका मेयर ज्यान पोल्डरम्यानले बीबीसीसँग भन्नुभयो।

शुक्रवार ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण सेवासम्बन्धी निकायले प्रदेशभरि १३६ वटा डढेलो सक्रिय अवस्थामा रहेको बताएको थियो।

उसले अघिल्लो दिन १२ हजार बिजुली चम्किएर भएका चट्याङका घटना रेकर्ड गरिएको जनाएको छ।

उक्त निकायका प्रादेशिक सञ्चालन निर्देशक क्लिफ च्यापम्यानले भन्नुभयो, “धेरै त्यस्ता चट्याङहरू समुदायको नजिकै पनि खसेका थिए।”

सयौँ घरपरिवारलाई उनीहरूले आफ्नो घर छाड्नुपर्ने हुनसक्ने चेतावनी दिइएको छ।

क्यानडाका रक्षामन्त्री हरजित सज्जनले सरकारले आगलागी पीडितको सहायताका लागि सैन्य हेलिकप्टर र सहयोगी व्यक्तिहरू पठाउने बताउनु भएको छ।

आगलागीका कारण दुवैतर्फका कैयौँ राजमार्गहरू बन्द भएका छन्।

जनसुरक्षा मन्त्री बिल ब्लेयरले मौसम र डढेलोले ब्रिटिश कोलम्बियामा “विध्वंसकारी” र “अस्वाभाविक” असर पारेको बताउनु भयो। बिबिसी

Facebook Comments