Sat. Jul 27th, 2024

नेकपा स्थायी कमिटीे बैठक, राजनीतिक एजेन्डा स्वीकार

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर २९ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएका पाँचवटा राजनीतिक प्रतिवेदनलगायतका एजेन्डाहरु स्वीकार गर्दै चौथौं बैठक प्रारम्भ भएको छ ।

बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको एजेण्डाका रुपमा स्वीकार गरिएको हो ।

बैठकको आरम्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामनासहित प्रस्ताव पारित गरिएको छ । उहाँ छिटो पूर्ण स्वस्थ भई नियमित पार्टी काममा सक्रिय हुने विश्वाससमेत व्यक्त उक्त बैठकले गरेको बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभयो । यसैगरी, विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले प्रस्तुत गर्नुभयो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा स्थायी समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको थियो ।
स्थायी समितिको अर्को बैठक मङ्सिर ३० गते सोमबार विहान ११ बजे सोही स्थानमा बस्ने पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

Facebook Comments