Sat. Apr 27th, 2024

असारे गीत-कराँसे रोपौला लोक लयमा

- शारदा कार्की, बिराटनगर

काठमाडौं, २०७८ असार १४ गते सोमबार । 

शारदा कार्की, बिराटनगर

(१)
त्योपारि पाखा सिमली डाँडा ओराली झरेर ।
दर्कँदाे झरी नगइ हुन्न झाेलुङ्गे तरेर ।
साएर गाेरु ती हली दाइ , अन्तिम जेठमा ।
मस्किँदै आए रोपार पनि ,बाटुले खेतमा ।
(२)
घरका बाबा बिउका मूठा डाेकाेमा लाउँदै ।
खेताला सँगै अगाडि लागे असारे गाउँदै । ।
बाउसे दाइ खन्खान गर्छन् छेउ र कुनामा ।
सुर्तीकाे ठुटाे तुर्लङ्ग झुण्याे दौराकाे तुनामा ।
(३)
सरर पारी हलका गोरु हली दाइ जोतौला ।
अनदी बीउ काडेर साथी कराँसे राेपौला ।
खेतका गरा सानार ठूला पाहाडी पाखमा ।
गाउला गीत सँधैंकाे रीत असारे भाकामा।
(४)
ए कान्छी आज बेठीमा निम्ताे बाबैले गरेका ।
खाजाकाे डाेकाे पिठ्यूमा बाेकी कावेली तरेका ।
दुइ चुल्ठी पारी कपाल बाटी चिटिक्कै परेका ।
फुल्बुट्टे सारी कैचीमा पारी लगाई झरेका ।
(५)
छुपुमा छुपु रोपेकाे धान कान्छीका हातले ।
आलीमा मास गरामा धान दुबैका साथले ।
खहरे खोलो पानी लगाएँ कुलोमा माेडेर ।
टाहारी खेत हरियो भयाे अनदी गोडेर ।
(६)
झरै है अब ए ठूली दिदी रोपाँई भएर ।
म जाने साथै दही र च्यूरा साथैमा लिएर ।
ती साथी मेरा रोपेर धान हिलोमा खेलेका ।
सम्झेर मलाई आलीमा बसी दोबाटो हेरेका ।
(७)
किसानी काम रमैलाे माने समग्र पाइन्छ ।
तिमीर हामी गरौ है काम खानलाई पाहिन्छ ।
असार मैना रोपेको धान मार्गमा काटौला ।
पाखुरा ख्याई गरेर काम भकारी भरौला ।
Facebook Comments