Sat. May 4th, 2024

पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा

काठमाडौं, २०७८ असार १२ गते शनिबार ।  मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनुपर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ”, उहाँले बताउनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमीन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पुर्याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनुपर्नेछ । अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ । देशभर मनसुनी वायुको प्रभाव छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेको जनाइएको छ । गोरखापत्र अनलाईन

Facebook Comments