Sat. May 18th, 2024

संवैधानिक व्यवस्थामाथि प्रश्न खडा भएका बेला राप्रपाले धक्का दिन सक्नुपर्छ : अध्यक्ष थापा

काठमाडौं, २०७८ असार ९ गते बुधबार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको भन्दै यही बेलामा धक्का दिएर आफ्नो पार्टीको मान्यता स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार राप्रपाको केन्द्रीय निर्देशन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको बताउनुभएको हाे । उहाँले यस्तो बेलामा धक्का दिन सके राप्रपाको मान्यताहरू स्थापित हुने र पार्टी अग्रणी शक्तिको रूपमा स्थापित हुने बताउनुभयो । विगतका कमी-कमजोरीबाट पाठ सिक्दै, पार्टी एकतालाई अक्षुण्ण राख्दै पार्टीलाई गतिशील तुल्याउनुपर्ने आवश्यकता रहेको उहाँकाे भनाइ छ ।

अध्यक्ष थापाले भन्नुभयो, ‘अहिलेको संवैधानिक व्यवस्थामाथि प्रश्न चिह्न खडा भएको छ । यही प्रश्न चिह्न खडा भएकै बेलामा हामीले धक्का दिन सक्यौँ भने हाम्रा मान्यताहरू स्थापित हुने र साथ साथै पार्टी पनि अग्रणी शक्तिको रूपमा स्थापित हुन्छ । यो धरातलीय यथार्थ छ । अब हामीले आउँदा दिनका रणनीतिहरू तय गर्नुपर्ने हुन्छ । विगतका कमी-कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ’

अध्यक्ष थापाले पार्टीलाई माथि उठाउनका निम्ति चाँडो भन्दा चाँडो महाधिवेशन गर्नुको विकल्प नभएको पनि बताउनुभयो । पार्टी गतिहीन भएको भन्दै यही अवस्थामा चुनावमा भाग लिए पार्टीले हार बेहोर्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले विगतका तिता-मिठा कुरा बिर्सेर एकताबद्ध हुन पनि पार्टी पङ्क्तिलाई आग्रह गर्नुभएको छ । उज्यालो अनलाईन

Facebook Comments