Fri. Mar 28th, 2025 04:19:52

इरान निर्वाचन: कट्टरपन्थी नेता राष्ट्रपति चुनिने निश्चित, विश्वमा पर्ने असर यस्ता

काठमाडौं, २०७८ असार ५ गते शनिबार । भर्खरै सम्पन्न निर्वाचनको मतगणना नसकिँदै इरानको आगामी राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी हुने निश्चित भएको छ।

राष्ट्रपतीय निर्वाचनमा उहाँले आफ्ना तीन प्रतिद्वन्द्वीलाई पछि पार्नुभएको छ। निर्वाचनमा अन्य कैयौँलाई उम्मेदवार हुन रोकिएको थियो। अहिले रइसी इरानका प्रधानन्यायाधीश हुनुहुन्छ र उहाँ अतिरूढिवादी विचार राख्नुहुन्छ ।

अमेरिकाले उहाँविरुद्ध प्रतिबन्ध लगाएको छ। उहाँ राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्धामा संलग्न हनुहुन्थ्यो । इरानमा सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा पर्छ।

राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ। तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ।

साठी वर्षीय धर्मगुरु रइसीले आफ्नो व्यावसायीक जीवनको अधिकांश समय अभियोजनकर्ताको भूमिका निर्वाह गर्नुभएको छ ।

वर्तमान राष्ट्रपति हसन रुहानीसँगको चुनावमा ठूलो अन्तरले हारेको दुई वर्षपछि सन् २०१९ मा उहाँ न्यायापालिका प्रमुख नियुक्त हुनुभएको थियो ।

रइसीले भ्रष्टाचार नियन्त्रण र इरानको आर्थिक समस्या हल गर्ने आफू सबैभन्दा उपयुक्त पात्र भएको रूपमा प्रस्तुत गरेका थिए।

यद्यपि कैयौँ इरानीहरू र मानवाधिकारकर्मीहरूले सन् १९८० ताका राजनीतिक बन्दीहरूलाई दिइएको सामूहिक मृत्युदण्डमा उहाँको भूमिकाप्रति चिन्ता व्यक्त गरेका छन्।

इरानले कहिल्यै पनि सामूहिक मृत्युदण्ड दिइएको स्वीकारेको छैन र रइसीले पनि उहाँमाथि लागेको आरोपबारे अहिले सफाइ दिनु भएको छैन । बिबिसी

Facebook Comments