Mon. Dec 23rd, 2024

ब्वाँसाहरु 

- तिला लेकाली, बेलबारी,मोरङ ।

                                                                 काठमाडौं, २०७८ जेठ २८ गते शुक्रबार ।

ब्वाँसाहरु 
तिमी हुलबाट हराएको मृगजस्तै बनेर
आफ्नो रैथाने भूमि छोडेर अलग भइछ्यौ
एका-एक कसरी पुग्यौ मान्छेको बस्तितिर ?
तिमीले त्यहीँको गिट्ठा भ्यागुरमा रमाउनु पर्थ्यो
चेपागाडाझैं,कुवामै रमाउनु पर्थ्यो
त्यहीँका आफन्तसँग जिस्किनु,इत्रिनु पर्थ्यो
सायद मान्छेका जस्तै रंगिन रहरले तान्यो
र शहर पसिछ्यौ
हठात् डस्यो शहरले ।
अब न वारि भयौ न पारी भयौ
उछिट्टियौ हाँडिका मकै जसरी
भेटियौ मात्र भने मारिन्छ्यौ आफन्त मर्दबाटै
शहर त झनै चिथोर्छ नै तिमीलाई
जसरी भुस्याहाले आगन्तुक कुकुरलाई चिथोर्छ।
तिमीलाई हुन्न मानवअधिकार
अधिकार पाउन त
पुरूष/ मान्छे भएर जन्मिनु पर्छ।
तिमीले थाहा पाउनुपर्थ्यो
तिमीले बुझ्न सक्नु पर्थ्यो
गाउँ, गाउँजस्तो छैन अचेल
शहर ,शहरजस्तो छैन अचेल।
तिमीलाई थाहा रहेनछ काजली
अचेल ब्वाँसाहरु गाउँ शहरमा बस्छन् ।

Facebook Comments