Thu. May 2nd, 2024

मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक(निर्णय सहित)

- निर्माण सामग्री निकासी गर्दा वातावरणमा प्रतिकुल प्रभाव पर्न नदिन सरकार प्रतिबद्ध

काठमाडौं, २०७८ जेठ २२ गते शनिबार । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ढुङ्गा, गिट्टी बालुवा लगायतका निर्माण सामग्री निकासी गर्दा वातावरणमा प्रतिकुल प्रभाव पर्न नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा समावेश भएको नदीजन्य निर्माण सामग्री निकासी सम्बन्धी कार्यक्रमको गलत व्याख्या गरी भ्रम फैलाउने काम भइरहेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सत्तारूढ दललाई कमजोर पार्ने उद्देश्यले गरिएको भ्रमपूर्ण प्रचारबाजीमा विश्वास नगर्न आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले कोरोना विरुद्धको खोप उपलब्ध गराउन राष्ट्रपतिले विभिन्न मित्रराष्ट्रका समकक्षीहरूलाई गर्नुभएको पत्राचार एवं कूटनीतिक पहल नेपालको संविधान बमोजिम रहेको हुनाले अनर्गल प्रचार गरी राजनैतिक मुद्दा नबनाउन पनि आग्रह गर्नुभयो ।

यसैबीच मन्त्रिपरिषद् बैठकले रासायनिक मलको आयातका लागि नेपाल सरकार र भारत सरकारबीच जी टु जी प्रक्रिया मार्फत खरिद प्रक्रिया अगाडि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।
यसै गरी बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीको बोन स्थित घरजग्गा बिक्री गर्ने तथा सगरमाथा संवादको आयोजना गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले कक्षा दशको अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा कोरोना सङ्क्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न सम्भव नभएको हुनाले यस वर्षका लागि विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल प्रकाशित गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले हरेक वर्षको पुष ११ गतेलाई राष्ट्रिय जेष्ठ नागरिक दिवसका रूपमा मनाउने, प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गर्ने तथा सर्लाही जिल्ला कौडेना गाउँपालिका समेत गरी ११ वटा औद्योगिक ग्रामहरू घोषणा गर्ने निर्णय गरेको छ ।

यसै गरी बैठकले टर्की, कतार र चीनमा हप्तामा एक/एक दिन नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । रेडियो नेपाल

Facebook Comments