Fri. May 17th, 2024

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घाेषणा

काठमाडौं, २०७८ जेठ २१ गते शुक्रबार । नेपालले अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको अनुदानबाट कोरोनाविरुद्धको खोप पाउने भएको छ । अमेरिकी सरकारले बिहीबार घोषणा गरेबमोजिम एसिया क्षेत्रका मुलुकलाई वितरण गर्ने ७० लाख मात्रा खोपमध्येबाट नेपालले कोभ्याक्स सुविधाको खोप पाउने भएको हो ।

केही समयअघि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुहुँदै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्नुभएको थियो । सोही अनुरोधका आधारमा नेपालले अमेरिकाबाट खोप पाउन लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालले अमेरिकासँग ५० लाख मात्रा खोपको अपेक्षा गरेको छ तर हाल घोषणा गरिएअनुसारको कोभ्याक्स अनुदानबाट त्यो सबै मात्रा आउन सक्ने सम्भावना कम रहेको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एसियाका १६ देशका लागि ७० लाख मात्रा खोप दिने भनिएको छ, यसमा हामीले कति पाउँछौँ भन्ने कुरा अमेरिकाले स्पष्ट भनिसकेको अवस्था तत्काल छैन ।” तर नेपालले अनुरोध गरेअनुसारको ५० लाख मात्राको खोप ढिलो चाँडो आउँछ भन्ने अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपालले सबै नागरिकलाई खोप लगाउने योजना अनुसार मित्रराष्ट्रबाट खोप ल्याउने अभियानमा राष्ट्रपति र नेपाल सरकारबाट पहल भइरहेको छ ।

अमेरिकासँग थप पहलमार्फत थप खोप ल्याउनसमेत गृहकार्य जारी रहेको ढकालले बताउनुभयो । तत्काल कोभ्याक्स अनुदानमा अमेरिकाले दिने घोषणा गरेको खोप आगामी तीन-चार दिनभित्र आइपुग्ने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार राति सार्वजनिक गरेको वक्तव्यअनुसार उसले पहिलो चरणमा २५ मिलियन मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत विभिन्न मुलुकलाई वितरण गर्ने घोषणा गरेको छ । जसअनुसार सात मिलियन अर्थात् ७० लाख मात्रा खोप एसियाका मुलुकलाई दिइने छ । जसमा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवान्युगिनी, ताइवान र प्यासेफिक आइल्यान्डलाई यो खोप आवश्यकताका आधारमा वितरण गरिने छ । त्यस्तै छ लाख मिलियन मात्रा दक्षिण र सेन्टरल अमेरिका, पाँच लाख मिलियन मात्रा अफ्रिकी मुलुकलाई र छ लाख मिलियन मात्रा अन्य क्षेत्रलाई वितरण गरिने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यकता अनुसार छिटोभन्दा छिटो खोप वितरण गर्न आफ्नो प्रशासनलाई निर्देशनसमेत दिनुभएको छ । यसरी अमेरिकाले नेपालको अनुरोध स्वीकार गर्दै खोप उपलब्ध गराउन लागेकोमा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद प्रकट गर्नुभएको छ ।

त्यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप उपलब्ध गराउन अमेरिकी विदेश मन्त्रालयले गरेको पहलको सराहना गर्नुभएको छ । काठमाडौंस्थित अमेरिकी राजदूत-याण्डी बेरीले अमेरिकाको घोषणा सार्वजनिक गर्दै नेपालले छिट्टै खोप पाउने आशा व्यक्त गर्नुभएको छ । गोरखापत्र अनलााईन

Facebook Comments