Fri. May 3rd, 2024

चिनियाँ सिनोभ्याकको खोपलाई डब्ल्यूएचओको आपतकालीन प्रयोग अनुमति

काठमाडौं, २०७८ जेठ २० गते बिहीबार । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको चिनियाँ सिनोभ्याक कम्पनीको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोग गर्ने अनुमति दिएको छ । यसअघि चीनकै सिनोफार्म खोपलाई मात्रै अनुमति दिएको डब्ल्यूएचओले सिनोभ्याकलाई पनि प्रयोग अनुमति दिएको हो ।

डब्ल्यूएचओले सिनोभ्याकले उत्पादन गरेको खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको जनाएको छ । डब्ल्यूएचओबाट अनुमति पाएको चीनको सिनोभ्याक कम्पनीको खोप दुई डोज लगाउनुपर्छ र खोपले १८ वर्ष माथिकालाई लगाउन मिल्ने सिफारिस गरिएको छ । सिनोभ्याकको खोपको पहिलो डोज लगाएको दुईदेखि चार सातापछि दोस्रो डोज लगाउनुपर्छ ।

दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न मिल्ने सिनोभ्याक खोप घरमा चलनचल्तीमा प्रयोग हुने रेफ्रिजेरेटर (फ्रिज) मा राख्न मिल्छ । कम तापक्रममा पनि खोप भण्डार गर्ने मिल्ने भएकाले यो खोप विकासोन्मुख देशहरुलाई सहज हुने विश्वास गरिएको छ ।

यस्तै, सिनोभ्याक खोपले खोप लगाएका शतप्रतिशत मानिसमा कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने अध्ययनहरुमा पाइएको छ ।

डब्ल्यूएचओबाट अनुमति पाउनुअघि नै सिनोभ्याकको यो खोप चीनका साथै चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा प्रयोग भइसकेको छ । बिबिसी

Facebook Comments