Sat. May 4th, 2024

चीनले अनुदानमा दिएकोमध्ये ८ लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं, २०७८ जेठ १८ गते मंगलबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये साढे ८ लाख खोप काठमाडौँ ल्याइएको छ । परराष्ट्र मन्त्रालयले चिनियाँ अनुदानमा प्राप्त ८ लाख ५० हजार ४ सय मात्रा खोप तथा सिरिञ्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिसकिएको जनाएको छ ।

८ लाख डोज खोप लिएर नेपाल वायुसेवा निगमको जहाज चीनको राजधानी पैचिंगबाट आज दिउसो काठमाडौंआएको हो भने हिमालयन एअरलाइन्सले ५० हजार ४ सय खोप युनान प्रान्तको राजधानी सहर खुनमिङबाट बिहानै काठमाडौं ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्राध्यक्ष सीले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।

पैचिंगस्थित नेपाली राजदूताबासका नियोग उपप्रमुख शुशीलकुमार लम्सालका अनुसार कोरोनाविरूद्धको ८ लाख ‘भोरेसेल’ खोप लिएर निगमको जहाज त्यहाँको स्थानीय समयअनुसार १० बजेर २३ मिनेटमा उडेको थियो । खोप लिन निगमको मेडिकल कार्गो उडान सोमबार राति ११ बजे काठमाडौंबाट पैचिंग तर्फ प्रस्थान गरेको थियो ।

पैचिंगबाट ल्याइएको खोप चीनको केन्द्रीय सरकारले उपलब्ध गराएको हो । यसको ढुवानी खर्च नेपाल सरकारले बेहोर्ने छ ।

त्यसैगरी चीनको स्वायत्त प्रदेश तिब्बत जनसरकारले दिएको २ लाख डोज खोपमध्ये ५० हजार ४ सय मात्रा नेपाल-चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले आज बिहान काठमाडौं पुर्याइदिएको हो । अर्को ५० हजार खोप पनि हिमालयले आजै काठमाडौं ल्याउने छ । बाँकी १ लाख डोज भोलि ल्याउने बताइएको छ ।

हिमालय एअरलाइन्समा चिनियाँ साझेदारको रूपमा तिब्बत जनसरकारको लगानी रहेको छ । त्यसैले तिब्बतले दिने सबै खोप उसैले काठमाडौैसम्मै ढुवानी गरिदिएको हो । ढुवानीवापत झण्डै २ करोड २२ लाख रूपियाँ खर्च हुने हिमालय एअरलाइन्सले जनाएको छ ।

दुई महिनाअघि पनि चीन सरकारले ८ लाख डोज खोप नेपाललाई अनुदानको रुपमा उपलब्ध गराएको थियो । सो खोप निगमको जहाजले गएको चैत १६ गते पैचिंगबाट काठमाडौं ल्याएको थियो । चीन सरकारले अनुदानमा दिएको खोपको मात्र १८ लाख पुगेको छ ।

Facebook Comments