Sun. May 19th, 2024

पंक्षीमा पनि रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो, अनुसन्धान सुरु

काठमाडौं, २०७८ जेठ १६ गते आईतबार । पक्षीमा रानीखेत, बर्डफ्लुलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिन थालेको छ । बर्ड फ्लु, रानीखेतलगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिएकाले नियन्त्रणमा समस्या भइरहेको विज्ञहरुले बताएका छन् ।

पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदासमेत सङ्क्रमण नियन्त्रण गर्न समस्या भइरहेको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समिति बनाएर काम भइरहेको छ । समितिमा व्यवसायी, विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरू रहेका छन् ।

निजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले नार्कको अध्ययनपछि मात्रै आफूहरुले नयाँ भेरियन्टबारे भन्न सकिने विभागका प्रवक्ता ढकालले बताउनुभयो । भारतलगायत दक्षिण एसियाली देशहरुमा नयाँ भेरियन्टहरु पुष्टि भएको र नेपालको अवस्थाबारे नार्कले गर्ने अनुसन्धानपछि भन्न सकिने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै रानीखेतको सङ्क्रमणको समस्या रहेको छ ।

काठमाडौं लगायत अरु जिल्लाहरुमा पनि रानीखेतका नयाँ भेरियन्टहरु देखा परेकाले यसबारे अनुसन्धान गर्न टोली खटाइएको विभागले जनाएको छ । केही दिनअघि मात्रै काठमाडौंको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएको थियो। उज्यालो अनलाईन

Facebook Comments