Fri. Sep 20th, 2024

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौं, २०७८ जेठ १५ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । उहाँले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि दिवसले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

गणतन्त्र दिवस, २०७८ को शुभकामना सन्देश पूर्ण पाठ

१४औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा  हार्दिक बधाई सहित सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु । साथै, लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी राजनीतिक कार्यकर्ता¸ नागरिक समाजका अगुवाहरू एवं आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दछु ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो ।

संविधानद्वारा संरक्षित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमश: संस्थागत हुँदै गइरहेको छ । गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य¸ सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गरेको छु । यसका साथै नेपालको संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापना गर्नका लागि यस दिवसले हामी सबैलाई थप उत्प्रेरणा प्रदान गर्नेछ भन्ने विश्‍वास लिएको छु ।

यस समयमा विश्‍वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमण पुन: तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु ।

आजको यस ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा सहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ जेठ १५ गते शनिबार ।

Facebook Comments