Thu. Apr 30th, 2026

बङ्गालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा शुक्रवारसम्म प्रभाव पर्नसक्ने

       

काठमाडौं, २०७८ जेठ ११ गते मंगलबार । पूर्वीमध्य बङ्गालको खाडीमा यास नामक ‘अति शक्तिशाली चक्रवात’ विकसित भइरहेको र त्यसको अलिअलि प्रभाव नेपालमा मङ्गलवार बिहानदेखि नै पर्न थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

“मङ्गलवार बिहानदेखि इलाम लगायत पूर्वी क्षेत्रमा पानी परेको छ। यसले आगामी दुई-तीन दिन देशका विभिन्न भागमा प्रभाव पार्ने प्रक्षेपण गरिएको छ,” मौसमविद् समीर श्रेष्ठले बताउनु भयो ।

उक्त चक्रवात बुधवारतिर ओडिशा तथा पश्चिम बङ्गालको तटमा आइपुग्ने भारतीय मौसम विभागको प्रक्षेपण रहेको छ। “नेपालमा खासगरी बिहीवार र शुक्रवार कतिपय ठाउँहरूमा वर्षा हुनसक्छ। पश्चिमी क्षेत्रमा भारी वर्षा हुनसक्छ,” श्रेष्ठले बताउनु भयो ।

चक्रवातका कारण कतिपय स्थानमा हावाहुरी पनि आउन सक्ने बताउँदै उहाँले दक्षिणी क्षेत्रमा तेज हावा चल्न सक्ने जानकारी दिनुभयो ।

विभागले सगरमाथा सहित हिमाली क्षेत्रहरूमा सतर्क रहन पनि सचेत गराएको छ। “उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मङ्गलवारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध छ,” विभागको मौसम बुलेटिनमा उल्लेख छ।

मौसम सतर्कताबारे सगरमाथा क्षेत्रमा रहेका पर्वतारोहीहरूलाई जानकारी गराइसकेको सम्पर्क अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । बिबिसी

Facebook Comments

सम्बन्धित समाचार