Sat. May 18th, 2024

क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौं महानगरपालिकाद्वारा भेन्टिलेटर सहयोग

काठमाडौं, २०७८ जेठ ८ गते शनिबार । काठमाडौं महानगरपालिकाले काठमाडौं क्षेत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग गरेको छ । महामारीको रुपमा विश्वभरी द्रूत गतिमा फैलिरहेको कोरोना भाइरस संक्रमितहरुको उपचारको लागि अत्यावश्य मानिएको भेन्टिलेटर सहयोग स्वरुप महानगरले उपलब्ध गराएको सो चिकित्सालयका अध्यक्ष डा.मनोजमान श्रेष्ठले भ्वाईस अफ काठमाडौंलाई जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध कायम भएको चीनको ल्हासा नगर अन्तर्गत फोरेन एफियर्स अफिस अफ ल्हासा नगरपालिकाबाट अनुदानमा काठमाडौं महानगरपालिकालाई प्राप्त भएको चार थान भेन्टिलेटर मध्ये दुई थान भेन्टिलेटर महानगरले क्षत्रपाटी निशुल्क चिकित्सालयलाई उपलब्ध गराएको हो ।

काठमाडौं महानगरपालिकाको सहयोगमा क्षत्रपाटी निशुल्क चिकित्सालयमा सञ्चालन भैरहेको काठमाडौं महानगरपालिका विशेष कोभिड अस्पतालको सेवा प्रवाहमा क्षमता वृद्धि गरि संक्रमितहरुको उपचारार्थ प्रयोग गर्न भेन्टिलेटर सहयोग सम्झौता पत्रमा दुइपक्षबीच हस्ताक्षर भएको काठमाडौं महानगरपालिकाले जानाएको छ ।

Facebook Comments