Tue. Sep 17th, 2024

देशलाई चुनावमा लैजाने काम प्रतिपक्षी दलहरुले गरिरहेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं, २०७८ जेठ ७ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई चुनावमा लैजाने काम प्रतिपक्षी दलहरुले गरिरहेको आरोप लगाउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीले राजनीतिक हिसावले एमाले एकीकृत रहेको बताउनु हुँदै नेता माधवकुमार नेपालले गरेको अनैतिक कामको हिसाव किताव पार्टीले गर्ने उहाँले प्रष्ट पार्नुभयो । “मार्ग प्रशस्त गर्नु भनेकै छाडेको हो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “मार्ग प्रशस्त गरिसकेपछि राजीनामा गरेर जानुपर्छ भन्ने संवैधानिक व्यवस्था छैन ।” यसलाई अनेक निहुँ बनाएर विरोध गर्नुको अर्थ नरहेको उहाँले चर्चा गर्नुभयो ।

“यो पनि मन्जुर छैन, त्यो पनि मन्जुर छैन भने विकल्प के छ दिनुस् भनिरहेको छुँ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “बल अरुले समातिसकेपछि ‘रन’ बनाउँछु भनेर हुन्छ र?” देशलाई चुनावमा लैजाने काम प्रतिपक्षी दलहरुले गरिरहेको उहाँले बताउनुभयो । अवको डेढ वर्षपछि त चुनावमा जानु छ नै उहाँले भन्नुभयो, “प्रचण्ड र माधवजीले जनताको अभिमत स्वीकारेको भए अहिलेको अवस्था आउने थिएन, उहाँहरुले जनमतको उल्लंघन गर्नुभयो ।”

पार्टीको आन्तरिक अनुशासन हिनता र अराजकतालाई पार्टीले समाधान गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । जनताले सर्वाधिक विश्वास र भरोसा गरेको पार्टी एमाले भएकाले संविधानको रक्षा र कार्यान्वयन गर्ने गराउने जिम्मेवारी आफूहरुमाथि रहेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई कुनै हिसावले तलमाथि हुन नदिइने उहाँले जिकिर गर्नुभयो ।

हरेक प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री हुनलाई आधार प्रस्तुत गर्ने अवसर छ, आज ५ बजेसम्म गर्दा हुन्छ प्रधानमन्त्री ओलीले थप्नुभयो, “विरोधका लागि विरोध हुने यस्तो अवस्थामा सरकार चलाउन मलाई ईच्छा छैन ।” आफूले इच्छा नगरेकै कारण संविधानअनुसार राष्ट्रपतिले वैकल्पिक सरकार गठनको आव्हान गर्नुभएको उहाँले प्रष्ट पार्नुभयो ।

अहिले पनि आफूसँग १२१ को मतभार कायमै रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले भरपर्दो आधार दिन सकें भने फेरि पनि सरकार बनाउँछु र एक महिनाभित्र विश्वासको मत लिन्छुँ ।” मलाई समर्थन दिनुस् नभए संसद विघटन भयो भनेर कराउन पाइँदैन उहाँले भन्नुभयो, “मलाई समर्थन दिनुहुन्न भने तपाईहरु नै बहुमत जुटाएर सरकार बनाउनुस्, निर्वाचनमा अहिले नै नजाउँ ।”परिस्थितिले देशमा निर्वाचन निम्त्याउँछ, त्यसलाई रोक्न सकिदैन प्रधानमन्त्री ओलीले भन्नुभयो ।

Facebook Comments