Tue. Sep 17th, 2024

रामबहादुर थापा “बादल” लाई पराजित गर्दै राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

- राष्ट्रियसभा उपनिर्वाचन

काठमाडौं, २०७८ जेठ ६ गते बिहीबार । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतभारले विजयी हुनुभएको छ ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका रामबहादुर थापा “बादल” लाई पराजित गर्दै देवकोटा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता तथा वर्तमान गृहमन्त्री थापालाई १ हजार ७४ मतभारले पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचनमा देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्नुभयो, भने थापाले ४ हजार १४ मतभार प्राप्त गर्नुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार उपनिर्वाचनमा प्रदेश तर्फ कुल १०५ मतदान भएको मध्ये देवकोटाले ५८ अर्थात् २७८४, थापाले ४५ अर्थात् २१६० र तामाङले २ अर्थात् ९६ मत प्राप्त गर्नुभयो । यस्तै स्थानीय तह तर्फ देवकोटाले १२८ अर्थात् २३०४, थापाले १०३ अर्थात् १८५४ र तामाङले २ अर्थात् ३६ मत प्राप्त गर्नुभएको हो । कुल ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ जनाले मात्र निर्वाचनमा मतदान गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार ४८ मतभार रहेको प्रदेशसभातर्फ १०९ मध्ये १०५ जना र १८ मतभार रहेका ११९ स्थानीय तहको २३८ मतदाता मध्ये २ सय ३३ जनाले मतदानमा भाग लिनुभएको थियो ।

उपनिर्वाचनमा एमालेका तर्फबाट सूर्य चिन्हमा रामबहादुर थापा (बादल), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कलम चिन्हमा स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको थियो । भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तर्फबाट मादल चिन्हमा कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको थियो ।

Facebook Comments