Tue. Sep 17th, 2024

राष्ट्रियसभाको उपनिर्वाचनमा ३३८ वटा भोट खस्यो, ९ जनाअनुपस्थित

काठमाडौं, २०७८ जेठ ६ गते बिहीबार । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि भएको मतदान सम्पन्न भएको छ ।

हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा विहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ३३८ जनाले मतदान गरेका छन् । बागमती प्रदेशको प्रदेश सभाका ११० सदस्य र ११९ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३८ जना मतदाता रहेका थिए । प्रदेश सभाका र स्थानीय तहका गरी ३४८ जना मतदाता रहेकोमा प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणबाट निधन भएपछि ३४७ मतदाता रहेका थिए ।

विवेकशील साझा पार्टीका तीन जना प्रदेश सभाका सदस्य मतदानमा सहभागी हुनु भएन । बागमती प्रदेशको प्रदेश सभा सदस्य १०५ जना मतदानमा सहभागी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख गरी २३३ जना सहभागी हुनुभयो । नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मतभार १८ रहेको छ ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालयले मतदान शान्ति पूर्ण रुपमा भएको जनाएको छ । यस्तै, कोभिड १९ सुरक्षाका लागि प्रदेश सभाका सदस्य र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुले मतदान गर्न बनाइएको मतदान केन्द्र (ग) मा २५ जनाले मतदान गर्नुभएको छ । मुख्यमन्त्री पौडेल, प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रदेशका मन्त्रीहरु, प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता शालिकराम जम्कट्टेल, नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलगायत मतदानमा सहभागी हुनुुभएको छ ।

निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतगणना ४ः३० बजेबाट सुरु गरिने जानकारी दिनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments