Sun. May 19th, 2024

चीन मङ्गल ग्रहमा सफलतापूर्वक यान अवतरण गराउन सफल

- चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बन्यो

काठमाडौं, २०७८ जेठ १ गते शनिबार । चीनले एउटा अन्तरिक्षयानलाई सफलतापूर्वक मङ्गल ग्रहमा अवतरण गराएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले शनिवार सबेरै जनाएका छन्। छ चक्का भएको चुरोङ रोबट उक्त ग्रहको उत्तरी गोलार्द्धमा रहेको एउटा विशाल समथर भूभागमा अवतरण गर्ने लक्ष्य राखिएको थियो।

उक्त यानले अवतरणका लागि एउटा सुरक्षा खोल, एउटा प्यारासुट र एउटा रकेट प्लेटफर्मको सहायता लिएको थियो।

चिनियाँ राष्ट्रा्ध्यक्ष सी चिनफिङले एउटा विशेष सन्देशमा उक्त अभियानको “अद्वितीय उपलब्धि”का लागि बधाई दिनुभएको छ ।

निकै कठिन प्रकृतिको ठानिएको उक्त कामका कारण मङ्गल सतह छुने सो सफलतालाई एउटा उल्लेख्य उपलब्धि मानिएको छ।

पैचिंग समय अनुसार उक्त यान शनिवार बिहान ७ बजेर १८ मिनेट जाँदा अवतरण गरेको थियो। अहिलेसम्म मङ्गल ग्रहमा अवतरण गर्ने सफलता अमेरिकाले मात्रै हात पारेको थियो।

यस अवतरणसँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने दोस्रो देश बनेको छ। आगोका देवता अर्थ लाग्ने चुरोङलाई थिआन्वेन-१ अभियानमार्फत फेब्रुअरीमा मङ्गल ग्रहमाथि पुर्‍याइएको थियो।

त्यसयताको समय सो यानले अवतरण गर्ने स्थानको अवस्था अध्ययन गर्न खर्चिएको थियो। त्यस क्रममा उक्त अभियानले उच्च गुणस्तरका तस्बिरहरूबाट अवतरण गर्ने सबैभन्दा सुरक्षित ठाउँ पहिचान गरेको थियो।

उसको उद्देश्य सक्दो बढी खाल्डा र ठूला ढुङ्गा छलेर अवतरण गर्न सकिने ठाउँ पहिचान गर्नु थियो।  बिबिसी

Facebook Comments