Thu. May 2nd, 2024

माधव नेपाल समूहको अल्टिमेटम : भोलि बिहान ९ बजेसम्म अध्यक्ष ओलीलाई अन्तिम मौका

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । नेकपा एमालेको खनाल-नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ । खनाल-नेपाल समूहले २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अध्यक्ष ओलीलाई साेमवार (भोलि) बिहान ९ बजेसम्म अन्तिम मौका दिएको हो ।

सिंहदरबारमा आज बसेको खनाल-नेपाल समूहको बैठकले ओलीले भोलि बिहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोलि नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

बैठकपछि माधव नेपाल समूहका नेता योगेश भट्टराईले भन्नुभयो, ‘हामीले अध्यक्ष ओलीको निरन्तर ध्यानाकर्षण गराएका छौँ । सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिबद्धता पनि खोजेका छौँ, त्यसका लागि भोलि बिहान ९ बजेसम्मको समय दिन्छौँ ।’

उहाँले भन्नुभयो, ‘जेठ २ गते २०७५ सालको अवस्थामा फर्केर पार्टी र सङ्गठनलाई सञ्चालन गर्ने कुरा र आउँदा दिनमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने कुरामा उहाँको प्रतिबद्धता हामीले खोजेका छौँ । यदि उहाँले त्यो प्रतिबद्धता जनाउनुभयो भने प्रतिनिधि सभामा हाम्रो उपस्थिति हुन्छ र हामी विश्वासको मतको पक्षमा मतदान गर्छौँ । त्यो स्थिति भएन र एउटा समूहलाई किनारा लगाउने, पेल्ने, धकेल्ने, कारबाही गर्ने, हतोत्साही गर्ने, डर , धाक, धम्की दिने, सत्ताको दुरुपयोग गर्ने जस्ता क्रियाकलापहरू निरन्तर भए भने हामीले भोलि वैशाख २७ गते जे निर्णय गर्नुपर्ने हो त्यो निर्णय गर्छौँ । र सम्पूर्ण माननीय सदस्यलाई भोलि बिहान साढे ९ बजे संसद् सचिवालयमा निमन्त्रणा गरेका छौँ । ९ बजेसम्म अध्यक्षको प्रतिबद्धताको प्रतिक्षा गर्छौँ । ९ बजेपछि जुन निर्णय गर्नुपर्ने हो । कठोर निर्णय हामी गर्छौँ ।’

यसअघि आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता/कार्यकर्तालाई अपिल गर्नुभएको छ । उज्यालो अनलाईन

Facebook Comments