Fri. May 3rd, 2024

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न

काठमाडौं, २०७८ बैशाक २३ गते बिहीबार । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको हो ।

कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराले बताउनुभयो । सेनाले सडक निर्माण कार्य सम्पन्न गरेको क्षेत्र मध्यकवाडीदेखि बालुकुनासम्मको २७ किलोमिटर क्षेत्रमा यसअघि नै यातायात सञ्चालनमा रहेको भए पनि अहिले निर्माण कार्य सम्पन्न भएको बालुकुनाबाट सलीसल्लासम्मको १२ किलोमिटर सडकमा भने सेनाबाहेक अन्य सार्वजनिक यातायात सञ्चालनमा अनुमति नदिएको उहाँले स्पष्ट पार्नुभयो ।

हुम्ला खण्डमा जिम्मेवारी पाएपछि २०७५ साल जेठमा काम सुरु गरेको नेपाली सेनाले २०७८ वैशाखमा सडक निर्माणको प्रारम्भिक कार्य सम्पन्न गरेको नेपाली सेनाको खुलालु-लैफु-कवाडी हुँदै सलीसल्ला खण्डको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले जानकारी दिनुभयो । तीन वर्ष नपुग्दै हुम्ला खण्डको ३९ किलोमिटर सडकको निर्माण कार्य सम्पन्न गर्न सेना सफल भएको उहाँले बताउनुभयो ।

कडा चट्टानी क्षेत्रमा सेनाले मेसिन, विस्फोट र कामदारबाट एकसाथ काम सुचारु गर्दै आएको थियो । अब उक्त खण्डको एक हजार घनमिटर क्षेत्रमा मात्र पर्खाल लगाउने र ग्याबियन भर्ने कार्य बाँकी रहेको र त्यो पनि नेपाली सेना र स्थानीय कामदारले काम गरिरहेको उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमणका कारण जिल्लामा निषेधाज्ञा जारी रहेको भए पनि सेनाले बाँकी काम अन्तिम चरणमा पुर्याएको उहाँले बताउनुभयो । अन्य भागको काम सम्पन्न गर्दा गत फागुनमा दुई किलोमिटर सलीसल्ला खण्डको चट्टानी भागमा काम बाँकी रहँदा सेनाको निर्माण दलले वैशाख महिनामा सम्पन्न गर्ने जनाएको थियो ।

त्यसैगरी हाल सेनाले कालीकोटको खुलालबाट मेसिन लगाएर सडकमा रहँदै आएका अवरोध पन्छाउने कार्य पनि सुरु गरेको छ । सबै काम एकसाथ सम्पन्न गर्ने काममा सेना लागेको उहाँले बताउनुभयो । सेनाले पूर्वनिर्धारित समयअनुसार आफ्नो काम सम्पन्न गरेको र अब बाँकी सम्याउनेलगायतका काम सम्पन्न गरेर एक महिनामा सडक विभागलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । गोरखापत्र अनलाईन

Facebook Comments