Sun. May 19th, 2024

गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार, दीपक गुरुङ्ग युवा तथा खेलकूदमन्त्री

काठमाडौं, २०७८ बैशाक १६ गते बिहीबार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । गण्डकी प्रदेशमा हाल रहेका मन्त्रालयलाई छुट्टाएर युवा तथा खेलकुद मन्त्रीमा मनाङबाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे)लाई नियुक्त गर्नुभएको हो ।

गत प्रदेशसभाको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र उमेदवारको रुपमा विजयी गुरुङ तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेपनि सर्वोच्चको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि स्वतन्त्र हैसितमा रहनुभएको थियो ।

प्रदेशसभा आफूलाई स्वतन्त्र सदस्यको हैसित दिन माग सहित निवेदन दिनुभएका गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा दर्ता गरेको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने अनुमान गरिएको थियो । अविश्वासको प्रस्तावमा मतदान हुने दिन प्रदेशसभामा अनुपस्थित गुरुङले मनाङका जनताको आग्रहमा अविश्वासको प्रस्तावको पक्षमा जान नसकिएको बताउनुभएको थियो ।

नवनियुक्त मन्त्री गुरुङलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ गराउँनुभएको थियो । मन्त्रीमा नियुक्तीपछि गुरुङले युवा तथा खेलकुद क्षेत्रमा केही नयाँ काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका एक सदस्य सम्पर्कमा नआएपछि प्रदेशसभाको विशेष अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

छ वटा मन्त्रालय रहेको गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्तिसँगै मन्त्रालयको सङ्ख्या सात पुगेको छ । यस अगाडि नेकपा माओवादी केन्द्रले पाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत र भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले राख्नुभएको छ ।

उपचाररत सांसद शाहीलाई कोरोना सङ्क्रमण
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको मतदान अगावै एक्कासि विरामी भएर अस्पताल भर्ना हुनुभएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको तेस्रो रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो ।

मङ्गलबार प्रदेशसभा सदस्यहरुको कोरोना परीक्षण गर्दा शाहीको रिपोर्ट नेगेटिभ र विरामी परेपछि चरक अस्पताल भर्ना हुनुभएका शाहीको दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो । शाहीको मत बिना संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित नहुने भएपछि विपक्षीले शाहीलाई वेपत्ता भएको भन्दै संसद बैठक स्थगित गर्न दवाव दिएका थिए ।

संसद सचिवालयले मङ्गलवार लिएको परीक्षणमा नेकपा एमालेका दुई, नेपाली काँग्रेसका एक र एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपनि शाहीलाई सङ्क्रमण देखिएको थिएन । एक्कासी विरामी भएपछि बुधबार लिइएको परीक्षणमा सङ्क्रमण देखिएकाले बुधबार बेलुका पुनः परीक्षण गरिएको थियो । बुधबार चरक अस्पतालले संसद सचिवालयमार्फत क्षेत्रीय प्रयोगशालामा गराएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टी भएको शाहीका स्वकीय सचिव मिलन हमालले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सदस्य शाही सम्पर्कमा नभएकाले खोजविनका लागि भन्दै उक्त पार्टीका सचेतक पियारी थापाले प्रदेशसभामा निवेदन दिएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

प्रदेशसभा सदस्य शाहीका भाई जुनबिक्रम शाहीले दिउँसो १२ बजेतिर टाउको दुःखेको, शरिर दुखेको भनेपछि दाजुलाई अस्पताल ल्याएर भर्ना गरको बताउनुभयो । ‘संयोगले म पनि पोखरामै आएको थिए, दाजु क्वाटरमै हुनुहुन्थ्यो, म बाहिर थिए, दाजुले एक्कासी अप्ठ्यारो भयो भनेपछि अस्पतालमा ल्याएर उपचारका लागि भर्ना गरेको छु ।’ शाहीले भन्नुभयो ।

२०७६ सालको उपनिर्वाचनमा बाम गठबन्धनको सहयोगमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीले आफू एक्कासी विरामी भएकाले संसद भवनमा नगएर अस्पताल आएको बताउनुभएको छ । एक विज्ञप्ती प्रकाशित गर्दै शाहीले पार्टीको निर्देशन र संसदीय दलको निर्णय अनुसार आफू अगाडि बढ्ने बताउनुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments