Tue. May 21st, 2024

दश लाख सर्वसाधारणले काठमाडौं छाडे

- कोरोना र निषेधाज्ञाको सकस

काठमाडौं, २०७८ बैशाक १६ गते बिहीबार । कोरोना संक्रमणको बढ्दो जोखिम र निषेधाज्ञाको सकस थेग्न मुस्किल भएपछि दश लाख जना भन्दा धेरै सर्वसाधारणले काठमाडौं छाडेका छन् ।महामारीको रुपमा विश्वभरी फैलिरहेको कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा समेत तिब्रगतिमा फैलिरहेको परिपे्रक्ष्यमा उक्त संक्रमणको नियन्त्रण र रोकथामको लागि नेपाल सरकारले बैशाख १६ गते बिहीबार विहान ६ वजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेपछि सो संख्यामा जनसाधारले काठमाडौं छाडेका हुन् ।

मंगलबार र बुधबार काठमाडौं उपत्यका छाडेर घर फर्कनेहरुको ताँती काठमाडौंको नयाँ वसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चावहिल लगायतका स्थानहरुमा देखियो । निषेधाज्ञाको समयसीमा तोकिए पनि पुनः त्यसको म्याद बढ्न सक्ने त्रासका कारण दाल, भात, तरकारीकै अभाव हुने भय र कोरोना संक्रमणको त्रासले सर्वसाधारण पोका पत्यौरा, गुण्टा, छोराछोरी, ग्याँसका सिलिण्डर लगायतका सामग्री बोकेर गन्तब्यतिर लाग्न वस, ट्रक, माईक्रोवस, ट्याम्पु आदिमा चढिरहेको, चढ्दै गरेको र चढ्ने प्रतिक्षामा लामो समय विताएको दृश्यले जो कसैको पनि कटक्क मन खान्थ्यो ।

मङ्गलबारको तुलनामा बुधबार बिहानदेखि बेलुकीसम्म नै गोंगबु नयाँ बसपार्कमा यात्रुको बाक्लो भीड देखिन्थ्यो । यात्रुको चापसँगै सार्वजनिक यातायातका पर्याप्त सवारीसाधन नहुदा सर्वसाधारणले निकै सास्ती भोग्नु परेको थियो ।

यातायात व्यवसायीले एक्कासी यात्रुको चाप बढेकाले सवारीसाधन व्यवस्था गर्न नसकिएको स्वीकारेका छन् । दशैँ र तिहारमा १० र १५ दिनअघि नै अग्रिम ‘टिकट बुकिङ’ खुल्ने भएकाले जिल्ला फर्किने यात्रुको विस्तृत सङ्ख्या मूल्याङ्कन गरी सवारीसाधनको व्यवस्था हुने गरेको बताइन्छ ।

कोरोना सम्झाउने भीड देखेर सुरक्षाकर्मी र यातायात व्यवसायीलाई नजिक जान समस्या देखिन्थ्यो तर मङ्गलबार बिहानदेखि लागेको यात्रुको चाप रातभर सवारीको जोरजाम गर्दा पनि नघटेको व्यवसायी बताउँछन् । उपत्यकामा चल्ने बस समेत बुकिङ गरी जिल्ला पठाइएको छ । आज वैशाख १६ गते बिहीबारबाट उपत्यकाका तीन वटै जिल्लाहरुमा निषेधाज्ञा जारी भएको छ ।

Facebook Comments