Wed. May 8th, 2024

जोर्ज फ्लोइड: जुरीद्वारा पूर्व प्रहरी अधिकारी हत्यामा दोषी ठहर

काठमाडौं, २०७८ बैशाक ८ गते बुधबार । अमेरिकामा एउटा जुरीले गत वर्ष मिनिआपुलिसको सडकमा भएको अफ्रिकी-अमेरिकी जोर्ज फ्लोइडको मृत्युलाई लिएर ‘एकजना पूर्व प्रहरी अधिकारी हत्यामा दोषी भएको’ ठहर गरेको छ।

गत वर्षको मे महिनामा फ्लोइडको गिरफ्तारीका बेला ४५ वर्षीय श्वेत जातिका प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा बढी समयसम्म घुँडाले उनको घाँटी थिचेको दृश्य छायाङ्कन गरिएको थियो।

व्यापक सङ्ख्यामा मानिसहरूले हेरेको त्यो भिडिओ सामग्रीले जातिवाद र प्रहरीद्वारा अधिक बल प्रयोगविरुद्ध विश्वव्यापी प्रदर्शन निम्त्याइ दिएको थियो। शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ। जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या छन्।

सेकेण्ड डिग्रीमा हत्याको आशय हुनुपर्छ तर त्यो पूर्वनियोजित हुँदैन भने थर्ड डिग्री हत्यामा प्रतिवादीले पीडितलाई मार्न खोजेको भन्ने प्रमाण आवश्यक पर्दैन। त्यहाँ कारबाही खतरनाक भए पनि खासगरी ज्यान लिन खोजिएको हुँदैन।

शोभिनलाई जेल सजाय नदिइँदासम्म हिरासतमै रहनेछन् र दशकौँसम्म जेलमा बिताउनु पर्ने हुनसक्छ। दुवै पक्षबाट सोमवार अन्तिम तर्कहरू प्रस्तुत गरिएपछि १२ जना सदस्य रहेको जुरी एक दिनभन्दा कम समयभित्रै आफ्नो निर्णयमा पुगेको हो। तीन साताको सुनुवाइले मिनिआपुलिसमा एक खालको उत्तेजना देखिएको थियो।

सुनुवाइ सकिएपछि जुरी बाह्य सम्पर्कबाट टाढा रहन एउटा होटलमा बसेको थियो। जुरी सदस्यहरू एकमत भएका थिए र उनीहरूले निर्णय नगर्दासम्म घर नफर्किने बताएका थिए।

निर्णयपछि अदालतबाहिर खुसीका दृश्य देखिएको थियो। निर्णय घोषणा लगत्तै सयौँ मानिसहरूले प्रशन्नता प्रकट गरेका थिए। फ्लोइड परिवारका वकिल बेन क्रम्पले उक्त निर्णय अमेरिकाको निम्ति ‘इतिहासको घुम्ती’ भएको टिप्पणी गर्नुभएको छ । बिबिसी

Facebook Comments