Sat. May 4th, 2024

वरिष्ठ गायक कुमार बस्नेत र मीरा राणालाई वसुन्धरा-मान पुरस्कार

काठमाडौं, २०७८ बैशाक ७ गते मंगलबार । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ गायक कुमार बस्नेतलाई २०७८ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ७५ हजार रुपैँयासहित सम्मानपत्र अर्पण हुनेछ ।

त्यसैगरी आधुनिक नेपाली गीत र संगीतको सिर्जना र गायनद्धारा नेपाली संगीतई स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गरी नेपाली संगीतमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने चर्चित गायिका मीरा राणालाई २०७८ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारका साथमा नगद ५० हजार रुपैँयासहित सम्मानपत्र अर्पण हुनेछ।

वि.सं. २००० साल असार १७ गते काठमाडौँमा जन्मनु भएका वरिष्ठ लोकगायक कुमार बस्नेतले १७ वर्षको उमेरदेखि मौलिक नेपाली लोकगीतहरुको संकलन र गायन प्रारम्भ गरी हालसम्म नेपाली गीतिभण्डारमा तीन सयभन्दा बढी गीतहरु समर्पण गर्नुभएको छ। बस्नेतका लोक कोसेली, नयाँ कोसेली, मादल घनघन, कुमार दाइ र बेस्ट अफ कुमार बस्नेतजस्ता लोकप्रिय सांगीतिक कृतिहरु सार्वजनिक भएका छन् ।

वि.सं. २००८ साल असोजमा काठमाडौँमा जन्मनु भएकी मीरा राणाले १४ वर्षको उमेरदेखि नेपाली संगीत क्षेत्रमा प्रवेश गरी सयौँ गीतहरु नेपाली संगीत भण्डारमा समर्पण गर्नु भएको छ । राणाका लेकै फुल्यो लालीगुराँस, सदाबहार लोकगीत, मीरा राणका गीतहरु, दुर्गाभजन र कृष्ण भजनजस्ता लोकप्रिय सांगीतिक कृतिहरु सार्वजनिक भएका छन् ।

यसअघि वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानले वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२),वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), कवि मोहन कोइराला (वि.सं. २०६४), संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वैरागी काइँला (वि.सं. २०६७), धर्मराज थापा (वि.सं. २०६८), समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), चित्रकार शशी शाह (वि.सं. २०७०), कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), संगीतकार अम्वर गुरुङ्ग (वि.सं. २०७२), आख्यानकार लीलबहादुर क्षेत्री (वि.सं. २०७३), समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४), गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५) र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६) र साहित्यकार डा. ध्रुवचन्द्र गौतम (२०७७) लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१), गायक दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४) गायक भक्तराज आचार्य (वि.सं. २०७५), कलाकार हरिवंश आचार्य (२०७६) र साहित्यकार सरुभक्त (२०७७) लाई प्रदान गरिसकेको छ ।

Facebook Comments