Fri. Sep 20th, 2024

राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न

- ड्यूक अफ एडिन्बराको शव सेन्ट जोर्जेज् च्यापलमा समाधिस्थ

काठमाडौं, २०७८ बैशाक ४ गते शनिबार । महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा भएको छ। राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ। कोरोनाभाइरस नियन्त्रणका लागि कार्यान्वयन गरिएका नियमका कारण राजकुमार फिलिपको अन्तिम संस्कारमा सीमित व्यक्तिहरू मात्र सहभागी भएका थिए। अन्तिम संस्कारको विधि गरिएको बेला सेन्ट जोर्जेज् च्यापलको क्वाईरको अग्रभागमा महारानी एलिजाबेथ एक्लै बस्नु भएको थियो ।

उक्त समारोहमा डीन अफ विन्ड्सरले महारानीप्रति ड्यूक अफ एडिन्बराको “अखण्ड निष्ठा” राष्ट्रप्रतिको सेवा र “साहस”प्रति सम्मान व्यक्त गर्नुभएको थियो । राजकुमार फिलिपको गत शुक्रवार अप्रिल ९ का दिन ९९ वर्षको उमेरमा विन्ड्सर कासलमा निधन भएको थियो। उहाँको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछिपछि हिँड्नु भएको थियो । शवयात्रामा सहभागी नहुने राजपरिवारका सदस्यहरू विन्ड्सर कासलदेखि कार चढेर च्यापलसम्म पुगेका थिए।

अन्तिम संस्कारका क्रममा यूकेभरि एक मिनेट मौनधारण गरिएको थियो। त्यसअघि राष्ट्रिय गान बजिरहँदा महारानीको कार सेन्ट जोर्जेज् च्यापल पुगेको थियो। राजकुमार फिलिपको निधन घोषणा भएयता महारानी एलिजाबेथ द्वितीया पहिलो पटक सार्वजनिक रूपमा देखा पर्नुभएको हो ।

अन्तिम संस्कारका क्रममा डीन अफ विन्ड्सरले ड्यूक अफ एडिन्बराको दीर्घ जीवन एउटा वरदान भएको बताउनु भयो । राजकुमार फिलिपलाई सम्मान व्यक्त गर्ने क्रममा डीनले उहाँको “करुणा, हास्यभाव र मानवता” को स्मरण गर्नुभएको थियो । बिबिसी

Facebook Comments