Sat. Mar 29th, 2025 05:46:14

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

- कोरोना र हिउँदे अधिवेशनबारे छलफल हुने

काठमाडौं, २०७८ बैशाक ३ गते शुक्रबार । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भोली बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । दलका नेताहरुबीच तिक्तता बढेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएपछि त्यसलाई राजनीतिक दलका नेताहरुले सकारात्मकरुपमा लिनुभएको छ ।

बैठकमा वर्तमान समसामयिक राजनीतिको विषय, संसदको हिउँदे अधिवेशन तथा कोभिड १९ को जोखिम पुनः बढ्दै गएको अवस्थामा त्यस विषयमा सर्वदलीय छलफल गरी सुझावका आधारमा अगाडि बढ्ने तयारी प्रधानमन्त्रीले गर्नुभएको बालुवाटार स्रोतले बताएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भोलि आह्वान ११ बजेका लागि प्रधानमन्त्रीबाट बैठकको आमन्त्रण प्राप्त भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । बैठकका लागि निमन्त्रणा आए पनि बैठकको एजेण्डाबारे भने जानकारी नगराइएको उहाँले बताउनुभयो । यस्तो संकटका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर छलफल गर्नु सकारात्मक रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीले दलहरुबीच सहमति जुटाएर राष्ट्रिय संकटको सामना गर्न सहज हुने भन्दै सर्वदलीय बैठक आव्हान गर्नुभएको बुझिएको छ । अहिले संसदमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दल छन् । गोरखापत्र

Facebook Comments