Tue. Apr 30th, 2024

पण्डित श्यामदास वैष्णवको निधन

काठमाडौं, २०७८ बैशाक ३ गते शुक्रबार । नेपाली भाषासाहित्यका महारथी पण्डित श्यामदास वैष्णवको आज साँझ ७ बजे आफ्नै घर ज्ञानेश्वरमा निधन भएको छ । उहाँको जन्म वि.सं.१९८१ साल साउन ५ गते काठमाडौंमा भएको थियो । पं.वैष्णवका श्रीमती जगतकुमारी वैष्णव, तीन छोरा र चार छोरी हुनुहुन्छ ।

वैष्णव २०७२ सालदेखि मनोरोगले पीडित हुनुहुन्थ्यो । वैष्णवको आज राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने उहाँका जेठा छोरा प्रदीप वैष्णवले जानकारी दिनुभयो ।

वैष्णव महाकवि लक्ष्मीप्रसाद देवकोटाका अति प्रिय चेला हुनुहुन्थ्यो । देवकोटा व्यास र वैष्णव गणेश भएर देवकोटाका धेरै किताब लेखिएका थिए । वैष्णवलाई देवकोटाका छाया पनि भनिन्थ्यो । वरिष्ठ लेखक नरेन्द्रराज प्रसाईका अनुसार वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर ७ वटा कृति प्रकाशित छन् । वैष्णवले हाम्रो संस्कृति, माधुर्य, झङ्कारको सम्पादन पनि गर्नुभएको थियो ।

वैष्णव गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति पुरस्कार, देवकोटा शताब्दी पुरस्कार, भानुभक्त पुरस्कार, मुक्ति पुरस्कार र नइ देरूनीख प्रदीप्ति पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।

नइ प्रकाशनको स्थापना, सञ्चालन र प्रबर्धनमा पं.वैष्णवको विशिष्ट कोटिको भूमिका रहेको थियो । २०७२ सालसम्म उहाँ प्रायस् हरेक दिन नइ प्रकाशनको कार्यालयमा जाने गर्नुहुन्थ्यो । । नइ प्रकाशन उहाँको जनसम्पर्कको थलो मानिन्थ्यो ।

Facebook Comments