Sat. Apr 20th, 2024

क्यानाडामा नेपाली नयाँ वर्ष भव्य रुपमा मनाईने

एडमन्टन, क्यानाडा, २०७८ बैशाक २ गते बिहीबार । क्यानाडाको एडमन्टनमा नेपाली नयाँ वर्ष कार्यक्रम भव्य रुपमा मनाईने भएको छ। नेपलिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले भर्चुअल बिधिबाट यहि आउँदो अप्रिल १८ तारिक आईतबार बिहान १० बजे नयाँ वर्ष विक्रम सम्बत २०७८ को अवसरमा भजन कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रम बिहान १० बजेदेखि साढे ११ बजेसम्म हुनेछ।

निश्चल नेपाल

कोरोना महामारीको कारण यो पटक स्टेजमा कार्यक्रम गर्न नसकिएको र कार्यक्रममा नयॉपन ल्याउने उद्देश्यका साथ पहिलो पटक अनलाइन भजन कार्यक्रम गर्न लागिएको नेपलिज क्यानेडियन सोसाईटी अफ एडमन्टनका कल्चरल प्रोग्राम डाईरेक्टर निश्चल नेपाल बताउनुहुन्छ। कोरोना महामारीले जताततै अस्त व्यस्त र विषम परिस्थिति सिर्जना भएसंगसंगै यहॉ रहनुभएका अग्रजहरुलाई सम्मान अनि समर्पित गर्दै यो भजन कार्यक्रम गर्न लागिएको सांस्कृतिक कार्यक्रम निर्देशक निश्चल नेपालको भनाई छ ।

नेपलिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले सबै इच्छुक सहभागिहरुलाई कार्यक्रममा जोडिन अनुरोध गरेको छ। कार्यक्रममा बिजया ढकालको उद्घोषण रहनेछ भने प्राबिधिक सहयोगमा सुदिप मानन्धर हुनुहुन्छ। कार्यक्रममा रेकर्डेड भजनहरु र लाइभ भजनहरु प्रस्तुत गरिनेछन। कार्यक्रमको शोभा बढाउन छोटो पुजाको पनि लाइभ प्रशारण हुनेछ।

एडमन्टनबासी नेपालीहरुलाई ईमेल मार्फत कार्यक्रमको जानकारी गराइसकिएको संस्थाका निर्देशक निश्चल नेपालले जानकारी दिनुभएको छ । “सहभागीहरुले WebEx लिंकबाट कार्यक्रममा जोडिनु पर्ने हुन्छ जुन लिंक इमेलमा पठाइसकिएको छ। WebEx मार्फ़त १५० जना सहभागी जोडिन सक्नुहुनेछ। कार्यक्रमलाई थप रोचक बनाउन हाजिरीजवाफ र खेलहरु पनि समाबेश गरिनेछ,” निश्चल नेपालले भन्नुभयो ।

कार्यक्रममा धेरै नेपालीहरुको सहभागिता रहने कुरामा बिश्वस्त हुनुहुन्छ क्यानाडामा लामो समयदेखि बस्दै आउनु भएका अग्रज जया झा।

नेपालीहरुको महत्वपूर्ण चाड नयाँ वर्ष २०७८ को उपलक्ष्यमा नेपलिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले सबै नेपालीहरुमा सुख, शान्ति, दीर्घायु, सुस्वास्थय एबंम उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

Facebook Comments