Fri. Apr 19th, 2024

कोरोना संक्रमण झन झन बढ्दै, एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं, २०७७ चैत ३१ गते मंगलबार । महामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाइरसको दोश्रो चरणको संक्रमण बढ्दै गएपछि  ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौं लगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नयाँ खालको भाइरस बढ्दै गएपछि एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिनुभयो

“शहरी क्षेत्रमा कम्तीमा एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने कि भन्ने तयारी छ”, उहाँले भन्नुभयो, “अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात-आठ लाख विद्यार्थी घरमै बसेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने देखिएको छ ।” मन्त्री त्रिपाठीले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकाले डरलाग्दो रहेको बताउनुभयो । “१८ वर्षभन्दा मुनिका बालबालिकाका लागि खोप विकास भएको छैन”, उहाँले भन्नुभयो, “अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएको र उनीहरुलाई खोपसमेत लगाउन नमिल्ने भएकाले सङ्क्रमण दर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर अनलाइन कक्षा सञ्चालन गर्नुपरेको छ ।”

तर विभिन्न शैक्षिक संगठनहरुले भने विद्यालय बन्दलाई अन्तिम विकल्पको रुपमा नहेर्न आग्रह गरिरहेका छन् ।

Facebook Comments