Tue. Apr 23rd, 2024

चिनियाँ “भेरो सेल” खोप सुरक्षित र प्रभावकारी-डा.सर्वोत्तम श्रेष्ठ

काठमाडौं, २०७७ चैत २६ गते बिहीबार चीन सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको “भेरो सेल” नामक कोरोना भाइरस  विरुद्धको खोप बुधबारदेखि नेपालमा लगाउन सुरु गरिएको छ । विश्वसनीय र प्रभावकारी मानिएको भेरो सेल खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, हिमालय सीमा पार व्यापारमा सम्लग्न नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापकआदिलाई लगाईन्दैछ ।

यसैबीच काठमाडौंको छत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा बुधबार भव्यताका साथ खोप कार्यक्रमको आयोजना गरिएको छ । सो स्वास्थ्य संस्थामा तोकिएको वर्गका मानिसहरुलाई खोप लगाईने कार्यक्रम भैरहेको छ । चीनमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरुको पुरानो तथा लोकप्रीय संस्था अरनिको समाज, चिकित्सालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा सो खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

कोरोना विरुद्धको सो खोप अत्यन्तै सुरक्षित र प्रभावकारी रहेको अरनिको समाजका निवर्तमान अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. सर्वोत्तम श्रेष्ठले बताउनु भयो । चीन सरकारले नेपाललाई खोप दिएर ठूलो गुन लगाएको श्रेष्ठको भनाई छ । उहाँले भन्नुभयो, “अहिले पनि करोडौं चिनियाँ जनताले कोरोना विरुद्धको खोप लगाउन पाएका छैनन् । आफ्ना नागरिकलाई खोपको अभाव हुँदा हुँदै पनि एक असल छिमेकीको नाताले नेपाली नागरिकलाई खोप उपलब्ध गराउनु चीन सरकारको महानता हो यो सामान्य कुरो होइन ।” चीन सरकारको यो कदमले नेपाल र चीनबीचको गहिरो मित्रता अझ प्रगाढ हुने श्रेष्ठको भनाई छ ।

चिनियाँ भ्याक्सिन संसारका धेरै देशहरुमा लगाईसकिएको र विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुले पनि सार्वजनिक रुपमै लगाईसक्नु भएको भ्याक्सिन हुनाले यसमा शंका गर्ने कुनै कुरो नरहेको डा. श्रेष्ठले बताउनु भयो । चिनियाँ भ्याक्सिन पहिलो पटक लगाउन सुरु भएको र आफुले पनि पहिलो पटक नै लगाउन पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

चीनले अन्तराष्ट्रिय मञ्चमै एक करोड खोप अनुदान स्वरुप विभिन्न देशहरुलाई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको पनि डा.श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यही एक करोड अनुदानको खोप भित्रबाट थप खोप आउन सक्ने सम्भावना छ । यो खोप सामान्यतया दुई हप्तादेखि चार हप्ताकोबीचमा लगाउनु पर्छ ।”

भ्याक्सिनको प्रभावकारीताबारे डा. श्रेष्ठको भनाई यस्तो छ :
यो भ्याक्सिन लगाईसकेपछि शरिरमा एन्टिबढी देखिने सम्भावना ९९ देखि १०० प्रतिशत नै हुन्छ । त्यसरी बनेका एन्टिबढीले शरिरलाई कोरोनाबाट बचाउने भनेको चाँही ७९ प्रतिशत छ भन्ने जानकारी प्राप्त भएको छ ।

खोप सहयोग असामान्य, खोप सुरक्षित छ

डा. श्रेष्ठ चीन सरकारले नेपाललाई उपलब्ध गराएको खोप सामान्य सहयोग नभएको बताउनु हुन्छ । यो चीन सरकारले उपलब्ध गराएको ठूलो सहयोग हो । हामीले प्राप्त गरेको जानकारी अनुसार अहिले तिन करोड चिनिया नागरिकले मात्र यो खोप लगाउन पाएका छन् । चीनमा पनि अहिले खोपको अभावै छ । र धेरैवटा कम्पनीहरु सकेसम्म छिटो खोप उत्पादनमा लागि परेका छन् । आफ्ना देशका जनताको आवश्यकता पुरा नहुदा नहुँदै पनि नेपाली जनतालाई आठ लाख डोप खोप दिनु भनेको सामान्य कुरो होइन । यो खोप सुरक्षित छ । लगाउदा कुनै पनि समस्या छैन ।

डा. श्रेष्ठ कोरोनाबाट बच्न र चीन अध्ययन गर्नेहरुलाई ढुक्क भएर खोप लगाउन सल्लाह दिनुहुन्छ :

कोरोनाको पहिलो चरण सकिएर दोश्रो चरण आएको छ र तेश्रो चरणमा पनि आउने बताईएको अवस्थामा जमघट धेरै हुने स्थानमा नजानु नै उपयुक्त हुन्छ र चीनमा अध्ययन गर्न जानेहरुले त सकेसम्म चाँडो यो खोप लगाउनु आवश्यक भएको डा.श्रेष्ठ बताउनु हुन्छ ।

खोप कार्यक्रमलाई प्रभावकारी बनाउन छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डक्टर मनोजमान श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । चिकित्सालयमा सहज र सरल तरिकाले खोप लगाउन पाएको सेवाग्राहीहरुले बताएका छन् ।

Facebook Comments