Fri. May 3rd, 2024

जनता समाजवादी पार्टीले सरकारलाई मुद्दा र बन्दीको विवरण बुझाउन थाल्यो

काठमाडौं, २०७७ चैत २५ गते बुधबार जनता समाजवादी पार्टी (जसपा)ले मधेश आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाएको छ । सत्ता समीकरणका लागि जसपाले मधेश आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, बन्दीको रिहाइ हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने, संविधान संशोधन हुनुपर्ने र मधेश थारुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकारसमक्ष राखेको थियो ।

सोहि माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रिया अघि बढाएसँगै जसपाले मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाउन शुरु गरेको हो । जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ प्रक्रियासम्बन्धी कार्यविधिसमेत पास गरेको छ । सोहि कार्यविधि अनुसार सरकारले जसपालाई मुद्दा र बन्दीको विवरण निकाल्न फाराम भर्न लगाएको थियो । उक्त प्रक्रिया बारे जिज्ञासा राख्दा जसपाका नेता एवं कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लले मुद्दा र बन्दीको विवरण गृह मन्त्रालय पठाउन शुरु भएको बताउनुभयो ।

‘केहि विवरण हिजो पठाइयो भने केही आज पठाउने तयारी छ,’ उहाँले भन्नुभयो । मुद्दा र बन्दीको विवरण सरकारलाई एकै पटक पठाउन समस्या भएको हो ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘जिल्लामा संकलन गरिएको विवरण आइपुगेको छैन । सरकारले दिएको तथ्याङ्क अपूरो छ । सरकारले दिएको तथ्याङ्कबाहेक पनि केहि मुद्दाहरु बाँकी छन् । सरकारले हामीलाई दिएको तथ्याङ्क त्यो उल्लेख छैन ।’

सरकारले दिएको विवरणमा केही छुटफुट भएको उहाँले बताउनुभयो । यसका लागि आफ्नो स्रोतमार्फत जिल्लाबाट विवरण उपलब्ध गराइरहेको कार्यदल सदस्य शुक्लले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाले राखेको माग पूरा गर्न कार्यदल बनाउनुभएको छ । कार्यदलमा सरकारका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई हुनुहुन्छ भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह मधेश आन्दोलनका क्रममा उठाइएका माग पूरा भए सरकारमा जान तयार छ । त्यही कारण सरकारले जसपाको माग सम्बोधनका लागि कानुनी प्रक्रिया अघि बढाएको हो । गोरखापत्र

Facebook Comments