Thu. Apr 25th, 2024

गैंडा गणनामा संलग्न माउतेकाे ज्यान लिने बाघ नियन्त्रणमा

काठमाडौं, २०७७ चैत २३ गते सोमबार गैँडा गणनामा संलग्न माउत्तेलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई आइतवार राती नै ‘डार्ट’ गरी नियन्त्रणमा लिइएको छ । आइतवार साँझ बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको गैँडा मचान नजिकै गणनामा सहभागी हात्ती माउत्ते पुलिसराम चौधरीलाई आक्रमण गरी भागेको नरभक्षी बाघलाई राती नै नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार माउत्ते चौधरी र उहाँसँग रहेको हात्तीमाथि साँझ ५ः३० बजेतिर बाघले आक्रमण गरेको थियो । तत्काल गणना टोलीले उद्धार गर्दा करिब सात सय मिटर झाडीसम्म लछारेर माउत्ते चौधरीलाई बाघले छाडेर जंगलतर्फ भागेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठ, बर्दिया स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरिया र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाका देवीदत्त गणका प्रमुख दिनेश कार्कीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बाघको आक्रमणबाट मृत्यु भएका चौधरीको शवलाई सुरक्षित साथ उद्धार गरेका थिए ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो, चमकन्न रातमा बाक्लो जंगलभित्र बाघको आक्रमण भएको घटना निकै डर लाग्दो र सम्वेदनशिल थियो । तैपनि निकुञ्ज र कोषको प्राविधिक टीमले नेपाली सेनाको सहयोगमा बाघलाई राती नै डार्ट गर्न सफल भयो । घटना भएको केही समयमै आक्रमण गरेको स्थानतर्फ फेरी त्यो बाघ आयो । हामीले बाघलाई देखेपछि १० मिनेटमै डार्ट गरेर नियन्त्रणम लिन सक्यौँ । अहिले सो बाघलाई ठाकुरद्धारास्थित उद्धार केन्द्रमा राखिएको छ । समस्याग्रस्त यो बाघको उमेर कम्तिमा १० वर्षको अनुमान गरिएको छ । बाघको औसत आयु १५ वर्षको मानिन्छ । त्यसैले यो बाघ बुढो भएकाले मौका छापेर शिकार गर्ने प्रवृतिको भएको बताइएको छ । बाघको खुट्टामा गहिरो चोट लागेको छ ।

सदरचिडिया खानामा ल्याइदै
नियन्त्रणमा लिइएको यो बाघलाई सोमवार नै काठमाडौँ ल्याइने तयारी भइरहेको छ । प्रमुख श्रेष्ठका अनुसार जावलाखेलस्थित सदरचिडियाखानामा राख्नका लागि कुरा भइसकेको छ । यस अघि डार्ट गरेर नियन्त्रणमा राखिएको एउटा नरभक्षी बाघ बाँके राष्ट्रिय निकुञ्जको खोरबाट भागेपछि यो बाघलाई सदरचिडियाखानामा ल्याउने तयारी भएको हो ।

सोमबार निकुञ्ज बन्द
बर्दिया राष्ट्रिय निकुञ्जले आइतवार राती नै एक सूचना जारी गरी सोमवार निकुञ्जभित्र हुने पर्यटकीय गतिविधि पूर्ण रुपले बन्द गरेको जनाएको छ । केही दिन अघि निकुञ्ज भित्र एक महिलालाई बाघले आक्रमण गरी मृत्यु भएपछि पर्यटकलाई निकुञ्जभित्र पैदल हिडडुल गर्न बन्द गरिएको थियो भने जीप सफारी सञ्चालनलाई मात्र अनुमति दिने गरेको थियो । सोमवार भने जीप सफारीलाई पनि बन्द गरिएको निकुञ्जको सूचनामा उल्लेख गरिएको छ । गोरखापत्र

Facebook Comments