Fri. May 3rd, 2024

माधव नेपाल भन्नुहुन्छ: “डीपीआर नै नभएका सडक शिलान्यास गर्नु ओलीको तमासा हो”

काठमाडौं, २०७७ चैत २३ गते सोमबार नेकपा (एमाले) का निलम्बित नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले डीपीआर नै नभएका सडक बालुवाटारबाट शिलान्यास गरेर तमासा गरेको टिप्पणी गर्नुभएको छ ।

‘केपी ओलीका तमासा पनि कति । बालुवाटार बसेर एकै दिन १६५ सडक शिलान्यास रे । ती सडकको डीपीआर भएको छैन, लागत कति लाग्छ थाहा छैन । बालुवाटार बसेर स्वीज थिचेर शिलान्यास । त्यो तमासा मात्रै हो । त्यसको कुनै अर्थ छैन,’ नेपालले भन्नुभयो, ‘जनता कुरा हैन काम चाहन्छन् । जनताको मन जित्न कुराले हुँदैन । काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीलाई विर्सजनको दिशामा लान खोज्नु भयो । हामी कम्युनिष्ट पार्टीलाई सही बाटोमा लैजान चाहन्छौं ।’

काठमाडौं जिल्ला कमिटीले आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु नै आधिकारिक एमाले भएको भन्दै ओलीले गरेको कारबाहीको कुनै अर्थ नरहेको भनाइ दोहोर्‍याउनु भयो । ओली पक्षबाट पूर्वाग्रहपूर्ण व्यवहार भोगिरहेका कार्यकर्तालाई जोगाउन र उत्साहित गर्न आफूहरु लागेको उहाँले बताउनु भयो ।

नेपालले नवौं महाधिवेशनपछि ओलीले मदन भण्डारी फाउन्डेशनको नामबाट गुटबन्दी गरेको बताउनु भयो । ‘केपी ओली पार्टी बनाउन हैन, गुट बनाउन लाग्नु भएको छ । उहाँ सिद्धान्तमा हैन भजन मण्डली बनाउन लाग्नु भएको छ । हामी जनता, राष्ट्रका लागि समर्पित भएर लाग्न खोजिरहेका छौं,’ नेपालले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारबाट १६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक/एक वटा सडकको शिलान्यास गर्नुभएको थियो । कान्तिपुर

Facebook Comments