Fri. May 3rd, 2024

६० वटा जिल्लाका विभिन्न क्षेत्रमा एकै दिन ७२८ स्थानमा डढेलो

- डढेलोको त्रास बढ्दो

काठमाडौं, २०७७ चैत २३ गते सोमबार वितेको २४ घण्टामा देशका विभिन्न जिल्लाका ७२८ स्थानमा डढेलो गएको छ । लामो समय पानी पर्न नसक्नु र मानविय लापरवाहीका कारण गएको डढेलोले व्यापक रुपमा पर्यावरण विनाश भएको छ । विभिन्न वन क्षेत्रमा बढ्दो क्रममा रहेको डढेलोबाट मृत्यु हुनेको यकिन तथ्याङ्क सङ्कलन हुने क्रम जारी छ । सामुदायिक वन उपभोक्ता महासङ्घको प्रत्यक्ष निगरानीमा सङ्कलन गरिएको तथ्यअनुसार गएको माघ १ गतेयता डढेलो निभाउन गएका व्यक्तिको मृत्यु भएको हो । डढेलोमा परेर अछाममा तीन र हुम्लामा चार जना घाइते भएका छन् । उनीहरूको अझै उपचार भइरहेको महासङ्घका क्षेत्रीय संयोजक तुलसी अधिकारीले जानकारी दिनुभयो ।

यसरी नै मानिसको ज्यान लिने गरी २०६६ सालमा नेपालमा डढेलो लागेको थियो । त्यो बेला ४९ जनाको आगो निभाउने क्रममा ज्यान गएको थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता हालसम्म दुई हजार ३१३ वटा डढेलोसहितका भौतिक आगलागीका घटना भएका छन् । जसमा परेर ८६ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३५५ जना घाइते भएका छन् । यी घटनाका कारण एक अर्ब ७० लाख रुपियाँभन्दा बढीको नोक्सान भएको प्राधिकरणले जनाएको छ ।

बढ्यो डढेलो
महासङ्घका अध्यक्ष भारती पाठकका अनुसार देशका अधिकांश सामुदायिक वन यतिबेला डढेलोको चपेटामा परेका छन् । पहाडी भेगमा पानी परेपछि करिब तीन दिन मत्थर भएको डढेलो र आगलागी पुनः बढेको हो । वन मन्त्रालयअन्तर्गत रहेको वन तथा भू-संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७२८ स्थानमा डढेलो र आगलागी भएका छन् ।

डढेलोबाट ७७ जिल्लामध्ये ६० जिल्ला प्रभावित बनेको जनाइएको छ । एउटै जिल्लामा पनि धेरै स्थानमा डढेलो लाग्दा कतिपय गाउँ नै खतरामा परेका छन् । जसअनुसार सबैभन्दा बढी सुर्खेतमा ६५ स्थानमा डढेलो लागेको छ । त्यसपछि चितवनमा ४८, डडेल्धुरामा ४७, दाङमा ४६, सल्यानमा ४१, प्युठानमा ३२, डोटीमा २८, कैलालीमा २७ र बाँकेमा २६ स्थानमा डढेलो र आगलागी भएका छन् । त्यस्तै कञ्चनपुरमा २५, मकवानपुरमा २१, पर्सामा १७, जाजरकोटमा १६, अर्घाखाँचीमा १५, खोटाङ/अछाममा १३/१३, दैलेख र कपिलवस्तुमा १२/१२, नवलपुरमा ११ र सिन्धुलीमा १० स्थानमा डढेलो लागेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दर शर्माका अनुसार अबको डेढ महिना नेपाल डढेलोको उच्च जोखिममा छ । अहिले देशभर देखिएको डढेलोभन्दा अझ उच्च रूपमा फैलन सक्ने अनुमान उहाँले गर्नुभयो । लामो समय पानी नपरेर सुक्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेको प्राधिकरणका प्रवक्ता उद्धवप्रसाद रिजालले बताउनुभयो । अहिले कोरोना महामारीका कारण गाउँघरमा मानिसको चाप बढेको छ । जो कोहीले वन छेउछाउ चुरोट र सलाई सल्काएर फाल्ने गरेकाले डढेलो बढेको उहाँ उल्लेख गर्नुहुन्छ । उहाँका अनुसार चरनका लागि जाने गोठाला र स्थानीयवासीले घाँस पलाउँछ भन्ने आशमा पतकर र खेतबारीका छेउछाउमा आगो लगाउने गर्दा पनि त्यो बढेर वन क्षेत्रमा पुगेको हो ।

अत्याधुनिक सामग्रीको अभाव
वनमा लागेको आगो निभाउने अत्याधुनिक सामग्रीको अभावका कारण आगो निभाउन जानेको ज्यान जाने गरेको छ । कुटो, कोदालो, साबेल, गैँची, बुट, ग्लोब्सजस्ता सामान्य सामग्रीको एक/एक सेट करिब २५ वटा सामुदायिक वनलाई मात्र उपलब्ध छ । अन्यत्र घरमै भएका सामान बोकेर गाउँले नाङ्गै खुट्टा डढेलो निभाउन पुग्छन् । “जसका कारण एकातिर वन डढेलो निभाउन कठिन भइरहेको छ, अर्कोतिर मानिसको ज्यान बढी जान थालेको छ,” सामुदायिक वन उपभोक्ता महासङ्घका क्षेत्रीय संयोजक तुलसी अधिकारीले भन्नुभयो ।

उहाँका अनुसार जीउ पूरै छोप्ने अत्याधुनिक अग्निप्रतिरोधी सामग्रीसँगै सामान्य आगो निभाउन प्रयोग गर्न सकिने सानो खालको मेसिन वन पदाधिकारीसँग छैन । नेपालको कुल भूभागमध्ये करिब ४५ प्रतिशत वन क्षेत्रले ओगटेको छ । जसमा २२ हजार ४१५ सामुदायिक वन छन् ।यसैबीच बाँकेको नरैनापुर-४, खोदावा गाउँमा शनिबार दिउँसो १२० घरधुरी गोठ र जुम्लाको तिला गाउँपालिकामा थप ३१ घरधुरीमा भएको आगलागीबाट ठूलो क्षति भएको छ । तत्काल राहतको व्यवस्था र क्षतिको यकिन गरी पीडितहरूको निजी आवास पुनर्निर्माण गर्न गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय विपत् प्राधिकरणलाई निर्देशन दिनुभयो । गोरखापत्र

Facebook Comments