Sun. Apr 28th, 2024

एक महिनामा १५ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं, २०७७ चैत २० गते शुक्रबार  कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विभिन्न १३८ देशबाट १४ हजार ९७७ विदेशी नागरिक नेपाल भित्रिएका छन् । तीमध्ये ११ हजार दुई पुरुष र तीन हजार ९६३ महिला र १२ अन्य नागरिक रहेका छन् ।

विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट ७ हजार ६५८ पर्यटक नेपाल भित्रिएका छन् । जसमा ६ हजार १६९ पुरुष, १ हजार ४७७ महिला र १२ अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट १ हजार २०७ पर्यटक नेपाल भित्रिएका छन् । जसमा १ हजार २९ पुरुष र १७८ महिला छन् ।

एक महिनामा अमेरिकाबाट १ हजार ५६ पुरुष र ६४७ महिला गरी १ हजार ७०३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । विभागको तथ्याङ्कअनुसार गत जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा ९ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । गत फेब्रुअरीको तुलनामा मार्च महिनामा झण्डै पाँच हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी एक महिनामा ९ हजार ५८७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । जसमा ६ हजार ६६३ पुरुष, २ हजार ९१३ महिला र ११ अन्य नागरिक रहेका छन् । यस्तै एक महिनामा ४९ हजार पाँच नेपाली विदेश गएका छन् ।जसमा ४० हजार ५६ पुरुष, ८ हजार ८४८ महिला र १ अन्य नागरिक रहेका छन् । एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७१ हजार २७० जना नेपाल भित्रिए भने ५८ हजार ५९२ जना बाहिरिएका छन् ।  गोरखापत्र  

Facebook Comments