Fri. Sep 20th, 2024

सबै राजनीतिक दलहरू मिलेर जानुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं, २०७७ चैत ४ गते बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान अवस्थामा सबै राजनीतिक दलहरू मिलेर जानुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनको बारेमा आफ्नो ध्यानाकृष्ट भएको बताउनुहुँदै आफ्नो बङ्गलादेश भ्रमणको बारेमा जानकारी गराउनुभयो ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले बैठकपछि बाहिरिने क्रममा आजको बैठकमा समसामयिक विषयमा छलफल भएको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तन र बङ्गलादेशको भ्रमणबारेमा जानकारी गराउनुभएको र आफूले नयाँ निर्वाचनमा जानुपर्ने भावना व्यक्त गरिएको पाएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समसामयिक विषय लगायत जलवायु परिवर्तनका बारेमा बैठकमा छलफल भएको बताउनुभयो ।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्वाङ लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, र नेता राजेन्द्र महतोको सहभागिता थियो ।

आजको बैठकमा पूर्व प्रधानमन्त्रीहरू माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रेडियो नेपाल

Facebook Comments