Sat. May 18th, 2024

राजनीतिक र सामाजिक जागरणका लागि महिलाहरू स्वयम् अभियन्ता बन्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं, २०७७ फागुन २९ गते शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको मुख्य नीति राजनीति भएकाले मुलनीति नै बिगार्न खोज्ने प्रवृत्तिको अन्त्य गर्नु पर्ने बताउनुभएको छ ।

१११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घद्वारा आज काठमाडौँमा आयोजित बृहत् राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा राजनीति बिगार्न खोज्ने तत्त्वहरू लागि परेको भन्नुहुँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लोकतान्त्रिक आन्दोलनलाई सही दिशा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले देशको प्रतिव्यक्ति आयले मात्र नेपाली सुखी नहुने भन्नुहुँदै असहाय, गरिब र सडक बाल बालिकाकालाई सम्मानित रुपमा बाच्ने वातावरण सरकारले बनाएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले ल्याएको विकासको लहर देख्न नसकेर  कतिपयलाई जलन भएको भन्नुहुँदै चुनावमा जान सक्ने आँट नभएको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपाल कम्यनिष्ट पार्टी एमाले, नेकपा नै भएकाले केही साथीहरूले प्रवृत्ति सुधारेर आए समुचित रुपमा एकता गर्न आफु तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महिला आन्दोलनमा अखिल नेपाल महिला सङ्घको योगदान महत्त्वपूर्ण रहेको भन्नुहुँदै राजनीतिक र सामाजिक जागरणका लागि महिलाहरू स्वयम् अभियन्ता बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनः स्थापनापछि आफूलाई कम्युनिष्ट भन्ने र प्रजातान्त्रिक भन्नेहरूले सरकारले अध्यादेशमार्फत महिलाको हकहितमा ल्याएका ऐनहरु संसद्मा टेबुल हुन नदिएको भन्नुहुँदै सरकारले चाँडै नै ती ऐन नियमहरू पारित गर्ने बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिलाका हक अधिकारको संरक्षण गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो  । रेडियो नेपाल

Facebook Comments