Sun. May 19th, 2024

वीरगन्ज रक्सोल सीमानाका खोल्न आग्रह

काठमाडौं, २०७७ फागुन २८ गते शुक्रबार 

कोरोनामहामारीले थलिएको पर्यटन क्षेत्रलाई उकास्नका लागि वीरगन्ज रक्सोल नाका खुला हुनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् । कोरोना महामारीका कारणले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राज्यले राहत दिनुपर्ने ठाउँमा सीमानाका पनि बन्द गरेर अझ पर्यटनक्षेत्रलाई धरासायी बनाएको वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूले दुखेसो गरे ।

थलिएको पर्यटन क्षेत्रलाई पूर्ववत अवस्थामा फर्काउनका लागि सुुरु गर्न लागिएको ‘पर्यटन पुनरुत्थानका लागि साझेदार कार्यक्रम’ अन्तर्गत बुधबार वीरगन्जमा आयोजना गरिएको उद्घोष समारोहमा बोल्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले पर्यटन पुनरुत्थानका लागि सीमानाका खुला गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राज्यले वीरगन्जलाई राजनीतिक पूर्वाग्रह राखेकै कारणले अहिलेसम्म विकास हुन नसकेको र कोरोनाको बाहानामा सीमा नाकाबन्द गरेर अझै अन्याय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा टुरिष्ट आउँछ भने उसले आफूलाई र परिवारलाई कुनै वाधा अवरोध हुन्छ कि हुँदैन भनेर सोच्छ । त्यसैले पर्यटक चढेको गाडीमा स्टिकर लगाएर प्रहरी प्रशासनले दुःखन दिने वातावरण बनाउनुपर्छ ।’ पर्यटकलाई आर्कषित गर्नका लागि विभिन्न योजना बनाए पनि संघ सरकारको असहयोगका कारण काम अघि बढ्न नसकेको उहाँको भनाई छ । नेपालमा रहेका पहाड, जंगल हेरेर मात्रै पर्यटक आकषित नहुने भन्दै उहाँले पुनः सृजनाका पूर्वाधार संरचनाहरू निर्माण गर्न सके पर्यटकीय गन्तव्य बनाउन सकिने दाबी गर्नुभयो । सिंगापुर, दुवई, थाईल्याण्डमा समेत हरियाली जंगल र पहाडमा भन्दामा नवनिर्मित पर्यटकीय पूर्वाधारले गर्दा नै पर्यटकहरू जाने गरेको उहाँले बताउनु भयो ।

वीरगन्ज महानगरपालिकाले डेढ सय करोड लगानी गरेर महानगरको वडा नम्बर ३१ को रामवन प्राकृतिक चिडियाखाना बन्न सक्ने भन्दै त्यसको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिरहेको जानकारी दिनुभयो । बौद्यी खोलामा पर्यटकीय पूर्वाधार बनाउन खोजिएको र त्यसको लागि, ३५ विघा सार्वजनिक जग्गा र विद्यालयको १४ विघा जग्गा फेला पारे पनि आधा जग्गा भूमाफियाको कब्जामा गएको बताउनुभयो । वीरगञ्ज महानगरपालिकाले ७० विघा जग्गा घेरेर हरियाली वीरगन्जका अभियानअन्तर्गत वृक्षरोपण गर्न लागिएको बताउनु भयो ।

त्यसका लागि ३ करोड ३० लाख बजेटसमेत छुट्याएको पनि उहाँले बताउनु भयो । संघ, प्रदेश र स्थानीय सरकार तीनै तहबीच समन्व्य भए पर्यटन पुनरुत्थानमा धेरै काम गर्न सकिने उहाँको भनाई छ । वीरगञ्जलाई लगानीका हिसाबले राजनीतिक पूर्वाग्रह राख्ने गरिएको बताउदै उहाँले भन्नुभयो, “वीरगञ्जले के पाप गरेको छरु सबैले फाईदा लिनुहुन्छ तर वीरगञ्जलाई केही दिनुहुन्नरु” वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रमको उद्घोष गरिएको छ ।

होटल व्यवसायी युवराज लामाले वीरगञ्ज अन्तर्राष्ट्रिय पर्यटनको पारवहन नाका भएकाले पर्यटक तान्नका लागि गन्तव्यलाई पहिचान गर्ने र आकर्षक बनाउने, गन्तव्य स्थलमा विभिन्न गतिविधि विकास गर्ने र सेवा, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई आवश्यकताअनुसारको सेवा दिनुपर्नेमा जोड दिनुभयो । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले सीमा खुलेपछि पुनरुत्थान योजना सार्वजनिक गर्ने तयारी गरे पनि जति प्रयास गर्दा पनि सफल नभएको बताउनु भयो । उहाँले पीडामा रहेका होटल तथा पर्यटन व्यवायीहरूको पुनरुत्थानका लागि सीमानाका खोल्नु पर्ने पटक पटक व्यवसायीहरूले माग गर्दा समेत राज्यले नसुनेको गुनासो गर्नुभयो । उहाँले यस विषयमा कुरा गर्नका लागि प्रधानमन्त्रीसँग समेत भेट गर्न विभिन्न माध्यमदेखि उहाँका आर्थिक सल्लाहाकार मोतीलाल दुगडमाफर्त समेत प्रयास गर्दा समेत प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न नपाएको पनि गुनासो गर्नुभयो । कारोबार अनलाईन

Facebook Comments