Sun. Apr 28th, 2024

खनाल-नेपाल पार्टी सुदृढीकरणरबारे लिखित आग्रह गर्ने तयारीमा

काठमाडौं, २०७७ फागुन २७ गते बिहीबार

 पुनर्गठित नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल तथा माधवकुमार नेपालले पार्टी संगठन भित्र देखिएका पछिल्ला घटनाको नियन्त्रण र बामपन्थी एकताको प्रयासका लागि लिखित धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । वरिष्ठ नेताद्वयको पहलमा आज यहाँ भएको सो पक्षका स्थायी कमिटी सदस्यहरुको भेलाले सो निर्णय गरेको नेता घनश्याम भुषालले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला जिल्लामा एमालेका दुई पक्षबीच झडप र आरोप प्रत्यारोप चलिरहेका बेला त्यसलाई पार्टी नेतृत्व तहबाटै पहल भई नियन्त्रण गरिनुपर्ने माग सो पक्षका नेताहरुको छ । पूर्व मन्त्रीसमेत रहनुभएका नेता भुषालले भन्नुभयो, “नेकपा एमालेलाई संगठित र संरचनागत रुपले अगाडि बढाउन तत्कालिन जेठ २ गतेमा फर्कनुपर्छ भन्ने हाम्रो ठम्याई छ ।” सर्वोच्च अदालतको पछिल्लो निर्णयले एमाले र माओवादी केन्द्र अलग अलग पार्टीमा पुनस्र्थापित भएपछि पूर्व एमालेहरु सबै एक ठाउँमा आएकाबेला नेतृत्वले चाँडै छलफलका लागि बैठक बोलाउनुपर्ने बुझाई उहाँहरुको छ ।

अध्यक्ष केपी शर्मा ओलीले एमालेको बैठक बोलाउने बताइसक्नुभएको छ । तर कहिले बैठक बस्नेबारे अझै टुङ्गो लागेको छैन । यहीबीच खनाल-नेपाल पक्षले आफ्नो खेमाका नेताहरुसँग निरन्तर छलफल गरिरहनुभएको छ । हिजो बुधबार सो पक्षका केन्द्रीय सदस्यहरुको भेला बोलाई छलफल गर्नुभएको थियो । आज स्थायी कमिटीका सदस्यहरुसँग वरिष्ठ नेताद्वयले छलफल गर्नुभएको हो ।

सर्वोच्च अदालतको फैसलापछि तत्कालिन केपाका एमाले पक्षका सबै नेता तथा कार्यकर्ता एकसाथ एमालेमा फर्केकाले कसैप्रति लक्षित गरेर आरोप प्रत्यारोप गर्न नहुने उहाँहरुको आग्रह छ । अझ बामपन्थी शक्तिको एकताबाटै वर्तमान सरकारलाई टिकाउन सकिने र भविष्यमा सबै बाम शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास जारी राख्नुपर्ने छलफल भएको स्थायी कमिटी सदस्य नेता भुषालले गोरखापत्र अनलाइनलाई जानकारी गराउनुभयो । गोरखापत्र

Facebook Comments