Sun. May 12th, 2024

८ लाख २७ हजार बढी ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं, २०७७ फागुन २७ गते बिहीबार

दोस्रो चरणको कोरोना खोप अभियानको चौथो दिनसम्म ८ लाख २७ हजार बढी ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको आजको कोरोना खोप सम्बन्धी प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा जागेश्वर गौतमले गत २३ गते देखि सुरु भएको खोप अभियानको चौथो दिनसम्म ८ लाख २७ हजार ९ सय १७ जना ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिनुभयो ।

प्रा.डा. गौतमले तथ्याङ्क अनुसार हालसम्म ४६ प्रतिशतले खोप लगाइसकेको जानकारी गराउनुभयो । ६५ बर्ष माथिका ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन भइरहेको खोप अभियानमा हालसम्म खोप लगाउनेहरू मध्ये धुलिखेल अस्पताल स्थित सबैभन्दा बढी उमेर ९८ वर्षका ज्येष्ठ नागरिकले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, आज ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ४ सय ८४ वटा नमुनाको परीक्षण गर्दा काठमाडौँ उपत्यकामा ४४ सहित ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ७० पुगेको छ । यस्तै आज ६६ जनामा कोरोना सङ्क्रमणबाट निको भएका छन् । यो सँगै हालसम्म सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७१ हजार १ सय १६ पुगेको छ ।

तथ्याङ्क अनुसार ९८ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रेडियो नेपाल

Facebook Comments