Tue. Dec 24th, 2024

आवश्यक परे राज्यसत्ता विरुद्ध बन्दुक बोकेर लड्न तयार छौंः विप्लव

काठमाडौं, २०७७ फागुन २४ गते सोमबार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आवश्यक परे राज्यसत्ताका विरुद्ध बन्दुक लिएर पनि हिँड्न तयार रहेको बताउँनु भएको छ । कपिलवस्तुको शिवगढीमा आयोजित विप्लव नेतृत्वकै नेकपाको भातृ संगठन अखिल नेपाल महिला संघको सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।
जनतालाई दुख दिने आफ्नो पार्टीको एक इन्च पनि मनाशय नभएको र आफ्ना मुद्धा देशको स्वाधिनता, समृद्धि, राष्ट्रियता, न्यायको विरुद्ध रहेको उहाँले बताउँनुभयो । उहाँले ‘राज्यले लगाएको प्रतिबन्ध र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई दमन गर्नु गलत थियो । त्यसको हामीले प्रतिकार गर्यौ र गर्छौ ।’

उहाँले भन्नुभयो ‘हामीले भ्रष्टचार, अन्याय-अत्याचार, बलात्कार, महंगी लगायत देशका तमाम समस्याको विरुद्ध आवाज उठाउँदा राज्यले हामीलाई दमन गरी प्रतिबन्ध लगायो । हाम्रो लडाई कुनै प्रहरी, सेना, शसस्त्रसंग नभई राज्यसत्ता संगको हो ।’

जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितीमा देखिएको र जनताको मत पाएर जनताको छातीमा टेकेर हिँड्नेले कहिल्यै जनताको समस्या समाधान नगर्ने उहाँको भनाई छ । न्यायको लागि संघर्ष गर्न तयार हुने र संघर्षको सबैभन्दा ठूलो हतियार नै संघर्ष भएको उहाँले बताउँनु भयो ।

जनयुद्धमा सहादत प्राप्त गरेका सहिदको चाहना र सपना पूरा नभएको र सहिद तथा बेपत्ता परिवारले न्याय नपाएको विप्लवले बताउँनुभयो । उहाँले वर्तमान दलाल पुंजीवादी व्यवस्था असफल भएको बताउदै जनतालाई वर्तमान दलाल पुंजीवादी व्यवस्था की वैज्ञानिक व्यवस्था ठिक भनेर एकपटक जनतालाई जनमत संग्रह गर्न दिनुपर्नेमा जोड दिनुभयो ।

जनताको न्याय र दमनको विरुद्ध आवाज उठाउँदा मृत्यु पनि सह्य र प्रिय हुने उहाँले बताउँनु भयो । एकिकृत जनक्रान्तिको कार्यदिशा नै सबैभन्दा सुन्दर बाटो भएको समेत विप्लवले स्पष्ट पार्नुभयो । महासचिव विप्लवले राज्यले महिलालाई समान अधिकार र अवसर दिनुपर्नेमा पनि जोड दिनुभएको छ । नेपाल प्रेस अनलाईन

Facebook Comments