Sun. May 5th, 2024

आज १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, महिलाको समान पहुँच सुनिश्चित हुँनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं, २०७७ फागुन २४ गते सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो औँल्याउनुभएको छ ।

सोमबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राट्रिय महिला दिवसका रूपमा मनाइन्छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै छ ।

यो सङ्कल्प साकार पार्न महिला र पुरुषबीच विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घसंस्था तथा राज्यका सबै निकाय अग्रसर हुनु आवश्यक छ । लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै जरुरी हुन्छ । राष्ट्रपतिले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले महिलाको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा यस दिवसले प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रूपान्तरणमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताउनुभएको छ । ऐतिहासिक जनआन्दोलनलगायत परिवर्तनका आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको स्मरण गर्नुहुँदै प्रधानमन्त्री ओलीले देशको विकासमा महिला दिदीबहिनीहरूको समान सहभागिता अत्यन्त जरुरी रहेको बताउनुभएको छ ।

उहाँले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना दिनुहुँदै लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारले राजनीति र प्रशासनको क्षेत्रमा महिलाको प्रतिनिधित्व उल्लेखनीय वृद्धि भएको चर्चा गर्नुभएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारले यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिने उहाँले सन्देशमा बताउनुभएको छ । समाजको न्यून चेतनाका कारण समाजमा महिला उत्पीडिनका अवशेषहरू कायम रहेको समेत उहाँले बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “कानुनी प्रबन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरूलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसमा लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ ।” उहाँले विभिन्न प्रकार र स्वरूपका लैङ्गिक विभेद तथा हिंसाका घटनाको अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिसमेतको कानुनी व्यवस्था गरेको चर्चा गर्नुभएको छ ।

महिलाविरुद्धको हिंसाको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याई केन्द्र तथा स्थानीय स्तरमा विभिन्न संयन्त्रमार्फत आवश्यक सेवा प्रवाह गरिरहेको समेत सन्देशमा प्रधानमन्त्री ओलीले चर्चा गर्नुभएको छ ।

यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिनुभएको शुभकामना सन्देशमा महिलाविरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि आमनागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । काँग्रेसले आफ्नो पार्टीको विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको स्पष्ट पार्दै सभापति देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता रहेको औँल्याउनुभएको छ । गोरखापत्र

Facebook Comments