२०८३ आश्विन २२, बिहीवार

अधिकारकर्मी मुस्कान खातुनलाई अमेरिकाको प्रतिष्ठित पुरस्कार

       

काठमाडौं, २०७७ फागुन २१ गते शुुक्रबार

अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उहाँको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड आक्रमण गरेका थिए । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्नुहुँनेछ ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ । अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।’

नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दूतावासले जनाएको छ । अनलाईन खवर

Facebook Comments