Sun. May 19th, 2024

प्राथमिकतामा परेका सबैलाई खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, २०७७ फागुन १९ गते बुधबार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राथमिकतामा परेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप अभियानमा सहभागी हुन आग्रह गरेको छ । मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले यही २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा ५५ वर्ष माथिका सबै व्यक्तिलाई खोप लगाउन आग्रह गर्नुभयो ।

प्रवक्ता प्रा.डा गौतमले खोप अभियानको पहिलो १० दिन ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र बाँकी १० दिनसम्म ५५ देखि ६४ वर्षका व्यक्तिलाई खोप लगाइने जानकारी दिनुभयो । भाइरसविरुद्ध सुरक्षा बढाउनका लागि पहिलो खोप लगाएको ८ देखि १२ हप्ताबिच दोस्रो मात्राको खोप लगाउनुपर्ने प्रा. डा गौतमले जानकारी गराउनुभयो ।

यस्तै, आज ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ३ सय ९९ वटा नमुनाको परिक्षण गर्दा ५२ पुरुष र ३५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ३ सय ८१ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट आज ६२ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ६ सय ५ पुगेको छ । आज कोरोना सङ्क्रमणका कारण मृत्यु हुने २ सय ३३ जनाको सङ्ख्या थप भएको छ । योसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments