Sun. May 19th, 2024

‘सरकारले थप ५० लाख डाेज काेराेनाविरुद्धकाे खाेप खरिद प्रक्रिया सुरु गर्‍याे’

काठमाडौं, २०७७ फागुन १८ गते मंगलबार

सरकारले थप ५० लाख डोज कोभिड-१९ (काेराेना भाइरस) विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएकाे छ । मङ्गलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतकाे उपसमितिमा कोभिड-१९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नका लागि प्रक्रिया सुरु गरेको बताउनुभएको हो । अहिले मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी एक करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आउँदा दिनमा खोप अभियान ज्येष्ठ नागरिकबाट सुरु गर्ने बताउनुभयो । अग्रपङ्क्तिमा खटेर काम गर्नेहरूलाई पनि कोभिड-१९ को सङ्क्रमणबाट बचाउनुपर्नेमा उहाँको जोड छ । तीन लाख डोज खोप यही हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उहाँले जानकारी दिनुभयो । तर एकैचोटि करोडको सङ्ख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्ने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले कोभिडविरुद्धको खोपका कारण गम्भीर प्रकृतिका असर देखा नपरेको बताउनुभयो ।

डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताउनुभयो । १८ वर्षमुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्याङ्क नआएको हुनाले खोप नदिइने उहाँको भनाइ छ ।

पहिलो खोप लगाएपछि गम्भीर प्रकारका असर देखा परेका व्यक्ति र गर्भवती महिलालाई पनि कोभिडविरुद्धको खोप नदिइने उहाँले जानकारी दिनुभयो । उज्यालो अनलाईन

Facebook Comments