Fri. Apr 26th, 2024

हिंसामुक्त समाज निर्माण गर्न विद्यालय शिक्षा प्रभावकारी हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, २०७७ फागुन १७ गते सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भएको छ ।

राष्ट्रपति भवन, शितलनिवासमा आईतबार आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानी अनुरूपको प्रतिफल हासिल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठुलो भूमिका हुन्छ । सम्पूर्ण समाज यसको महत्त्वपूर्ण सरोकारवाला पक्ष हो । तसर्थ, विद्यालय र सामाजिक सङ्गठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्दछ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्दछ ।”

नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्नुहुँदै राष्ट्रपति भण्डारीले यी व्यवस्थाको प्रभाकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके चाँडै प्रतिफल हासिल गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

बालबालिकाको व्यक्तित्व विकासका लागि पहिलो पाठशालाको रुपमा रहेको घर परिवारसहित सुरक्षित सामाजिक वातावरण अनिवार्य रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले समाजमा चुनौतीको रूपमा देखिएको बाल दुर्व्यवहार र बाल यौन हिंसालाई न्यूनीकरण गर्न आधारभूत तहदेखि नै विद्यार्थी, शिक्षक र समुदायको सामूहिक पहल जरुरी रहेकोमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकूल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो । कोभिड-१९ महामारीबाट प्रभावित भएका विद्यालयहरूको समस्याप्रति सरकार संवेदनशील भएको बताउनुहुँदै मन्त्री श्रेष्ठले ती विद्यालयका समस्या समाधान गर्न आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो ।

विद्यार्थीहरूको सर्वाङ्गीण व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै नैतिक र नागरिक शिक्षालाई अनिवार्य बनाउनु पर्नेतर्फ सहभागी व्यक्तित्वहरूको सुझाव रहेको थियो । लैङ्गिक हिंसा र बाल यौन दुर्व्यवहारलाई न्यूनीकरण गर्न राष्ट्रिय अभियानको आवश्यकता रहेको कुरामा पनि सबैले जोड दिनुभएको थियो ।

शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला पक्षहरूको सहभागिता रहेको कार्यक्रममा शिक्षा मन्त्री श्रेष्ठसहित संसद् सदस्यहरू, जिसस महासङ्घका अध्यक्ष सीता सुन्दास, नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठ, अभिभावक सङ्घ, राष्ट्रिय शिक्षक महासङ्घ र शिक्षासँग सम्बद्ध विभिन्न सङ्घसंस्था एवं अनुसन्धानकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राष्ट्रिय सेवा दल (एनसीसी) का संयोजक रघुराम भण्डारी, नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपाने र बाल कल्याण परिषद्का कार्यकारी निर्देशक मिलन धरेलको समेत उपस्थिति थियो ।

यसअघि पनि गत फागुन ६ गते बिहीबार महिला तथा बाल बालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम राष्ट्रपति कार्यालयमा आयोजना गरिएको थियो । रेडियो नेपाल

Facebook Comments