Fri. Apr 19th, 2024

अमेरिकामा दुई लिङ्गी चरा भेटियो

काठमाडौं, २०७७ फागुन १५ गते शनिबार 

अमेरिकामा आधा भाले र आधा पोथीको स्वरूप भएको चरा भेटिएको छ । चराविद् जेमी हिलले आधा भाले र आधा पोथी अंश रहेको चराको फोटो सार्वजनिक गर्नुभएको हो । उहाँले फेला पार्नुभएको त्यस चराको फोटोले यतिबेला विश्वभरका संरक्षणकर्मीको ध्यान तानेको छ ।

उहाँले विगत ४८ वर्षदेखि चराको अध्ययन गरिरहनुभएको छ । पछिल्लो समय काठ फोरुवा लहाँचे चराको खोजीमा रहनुभएका उहाँले दुई लिङ्गी भएको चरासँगको साक्षात्कार हुँदा लहाँचे भेटिए जत्तिकै खुसी व्यक्त गर्नुभएको छ । एउटै शरीरमा भाले र पोथीको रङसहित अण्डाशय र डिम्बाशय दुवै अङ्गसमेत भएको चरा विश्वमै दुर्लभ मानिन्छ । आफूले लाखौँ चराको अध्ययन गरे पनि अहिले भेटिएको त्यो चरा निकै दुर्लभ भएको उहाँले बताउनुभएको छ । चरा भेटिएपछिको आफ्नो अनुभूति फेसबुकमार्फत सार्वजनिक गर्नुहुँदै उहाँले दुवै लिङ्गी भएको नर्थन कार्डिनल चराको बारेमा बताउनुभएको छ ।

चराविद् हिलका अनुसार भाले कार्डिलन चराको रङ चम्किलो रातो हुन्छ । पोथीको रङ भने फिक्का खैरो हुनेगर्छ । त्यो चराको फोटो खिच्न हिललाई सहज भने भएन । आफ्ना साथीहरूले फोनमा पठाएको फोटो हेरेपछि उहाँ चरा भएको स्थान वारेन काउन्टीमा पुग्नुभएको थियो । एक घण्टाको कुराइपछि अन्य कार्डिनल चराको हुलसँगै त्यो चरा पनि आयो । दुईवटा रुखमा एक्लै बसेपछि बल्ल फोटो खिच्न सहज भएको अनुभव उहाँले सुनाउनुभयो ।

उहाँले भेट्नुभएको चराको रङ भने आधा रातो र आधा फिक्का खैरो छ । उहाँले भन्नुभएको छ, “सुरुमा त मलाई लाग्यो यो आफ्नो वंशाणु रङ गुमाएर पाण्डु भएको चरा हो । तर पछि त्यसो होइन रहेछ ।” त्यसको अध्ययन अनुसार वंशाणुगत रूपमै उभय वा दुई लिङ्गी भएको चरा रहेछ र त्यसको रङसँगै बायाँमा भाले अङ्ग र दायाँमा पोथी अङ्ग रहेको पाइएको छ ।

शुक्रकीटलाई डिम्बले निषेचन गर्ने क्रममा भ्रूण बन्छ । त्यो भ्रूण बन्ने क्रममा त्रुटि हुँदा एउटै शरीरमा दुई लिङ्गी भएको चरा बनेको वेस्टर्न इलनोई विश्वविद्यालयका प्राध्यापक तथा अध्येता ब्रायन पियर उल्लेख गर्नुहुन्छ । गोरखापत्र

Facebook Comments